विश्वभर महँगा घडी चोरी बढ्दो, एक वर्षमै १० हजारभन्दा बढी हराए

काठमाडौँ । पछिल्लो समय लक्जरी घडीहरू केवल समय बताउने उपकरण वा सम्पन्नताको प्रतीकमा मात्र सीमित छैनन्। उच्च मूल्यका यी घडीहरू अहिले लगानीका आकर्षक माध्यमसमेत बनेका छन्। तर, मूल्य र माग बढेसँगै यिनको चोरीका घटना पनि तीव्र रूपमा बढ्दै गएको पाइएको छ।

अन्तर्राष्ट्रिय वाच ट्र्याकिङ प्लेटफर्म The Watch Register को सन् २०२५ सम्बन्धी प्रतिवेदनअनुसार विश्वभर १० हजारभन्दा बढी लग्जरी घडी चोरी वा हराएको विवरण सार्वजनिक भएको छ। यस हिसाबले हेर्दा औसतमा प्रत्येक घण्टामा एकवटा महँगा घडी गायब भइरहेको देखिन्छ।

बजार विस्तारसँगै जोखिम पनि

विश्वव्यापी लक्जरी वाच बजारको आकार हाल करिब ६.७५ लाख करोड रुपैयाँ पुगेको अनुमान छ। पछिल्लो १० वर्षमा मात्रै १.१३ लाखभन्दा बढी घडी चोरी वा लुटिएको तथ्यांक डेटाबेसमा दर्ता भएको छ, जसको अनुमानित मूल्य ३३ हजार २८० करोड रुपैयाँ बराबर छ। चोरी हुने घडीको औसत मूल्य करिब २२.४ लाख रुपैयाँ पर्ने गरेको बताइएको छ।

चोरी भएका घडीमध्ये थोरै मात्र फिर्ता

सन् २०२५ मा करिब १ हजार ४०० घडी ट्रेस गरी मालिकलाई फिर्ता गरिएको छ। तर विशेषज्ञहरूका अनुसार वास्तविक चोरीका घटना सार्वजनिक तथ्यांकभन्दा धेरै हुन सक्छन्। कारण—सबै पीडितले प्रहरीमा उजुरी दर्ता गर्दैनन्, र धेरैजसोले आफ्नो घडीको सिरियल नम्बर सुरक्षित राखेका हुँदैनन्। रिपोर्टअनुसार १७ प्रतिशत मालिकले सिरियल नम्बर नै रेकर्ड नगरेको र ८ प्रतिशतलाई यसबारे निश्चित जानकारी नभएको उल्लेख छ।

लन्डनमा सबैभन्दा बढी घटना

बेलायतमा हुने महँगा घडी चोरीमध्ये आधाभन्दा बढी घटना London मा केन्द्रित छन्। जनवरी २०२२ देखि जुलाई २०२५ सम्म त्यहाँ ५ हजार १८० लग्जरी घडी चोरी भएको विवरण छ।

रोलेक्स पहिलो निशानामा

चोरी हुने ब्राण्डमध्ये Rolex शीर्ष स्थानमा रहेको छ। सन् २०२५ मा चोरी वा हराएका घडीमध्ये ५१ प्रतिशत रोलेक्सका थिए। पुराना घडीको पुनर्बिक्री बजारमा समेत ४४ प्रतिशत हिस्सा यही ब्राण्डको छ।

यसपछि अत्यन्त महँगा टाइमपिस उत्पादन गर्ने Richard Mille दोस्रो स्थानमा रहेको उल्लेख छ।

किन बढ्दैछ चोरी?

विशेषज्ञहरूका अनुसार लग्जरी घडीको मूल्य निरन्तर उकालो लाग्नु र लगानीका सुरक्षित माध्यमका रूपमा स्वीकार गरिनुले चोरीका घटना बढिरहेका छन्। सानो आकारका कारण यस्ता घडी सजिलै लुकाउन र सीमापार ओसारपसार गर्न सकिन्छ। साथै, सेकेन्ड–ह्यान्ड बजार र अनलाइन ट्रेडिङ प्लेटफर्महरूले चोरीका घडी पुनः बिक्री गर्न सहज बनाएका छन्। यसरी विश्वभर बढ्दो लगानी प्रवृत्तिसँगै लक्जरी घडी चोरी गम्भीर सुरक्षा चुनौतीका रूपमा देखापर्न थालेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार