मुम्बई- विवादास्पद अभिनेता तथा फिल्म समीक्षक कमाल राशिद खान (केआरके) लाई मुम्बई प्रहरीले शनिबार पक्राउ गरेको छ।
मुम्बईको ओशिवारास्थित एक आवासीय भवनमा गोली चलाएको घटनामा संलग्न रहेको भन्दै उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार केआरकेले १८ जनवरीमा ओशिवाराको नालन्दा सोसाइटीमा आफ्नो इजाजतप्राप्त बन्दुकबाट दुई राउन्ड गोली चलाएको स्वीकार गरेका छन्। उनी विरुद्ध भारतीय न्याय संहिता र आर्म्स एक्टका विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले सो सोसाइटी परिसरबाट दुईवटा गोलीका खोका बरामद गरेको थियो । ती खोकाहरूमध्ये एउटा दोस्रो तलामा र अर्को चौथो तलामा फेला परेका थिए । रोचक कुरा के छ भने ती फ्ल्याटहरूमध्ये एउटा लेखक–निर्देशक नीरज कुमार मिश्राको हो भने अर्को मोडल प्रतीक वैद्यको हो।
सुरुमा सीसीटीभी फुटेजबाट कुनै ठोस प्रमाण नभेटिए पनि फरेन्सिक जाँचले गोली नजिकै रहेको केआरकेको बंगलाबाट चलाइएको सङ्केत गरेपछि प्रहरी उनलाई सोधपुछका लागि ओशिवारा प्रहरी चौकी पुर्याएको थियो । केआरकेले कुन उद्देश्यले गोली चलाएका थिए भन्ने कुरा अझै खुल्न सकेको छैन।