काठमाडौँ – कामना सेवा विकास बैंकले स्याङ्जाको एक विद्यालयलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले स्याङ्जाको रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई ती सामग्री वितरण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय बिरौटामार्फत पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको जनाएको छ ।
बैंकको पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद पोखरेललाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष पोखरेलले पुतलीबजार नगरपालिका– ४, रामकोश स्याङ्जामा रहेका गरिब विद्यार्थीहरूलाई गरिएको पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरणले विद्यार्थीहरूलाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले विद्यालयमा वितरण गरिएका पोशाक तथा शैक्षिक सामग्रीले समुन्नत समाज विकासका लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, श्री रामकोश फूलबारी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।