भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ ।
नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो ।
विद्यार्थीलाई प्रत्यक्ष रूपमा मतदाता शिक्षा प्रदान गरी उनीहरूका माध्यमबाट घरघरमा सचेतना फैलाउने लक्ष्य लिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस अभियानले आगामी निर्वाचनमा मतदाताको सहभागिता बढाउने विश्वास लिइएको छ ।
भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीलाई मतदाता नामावली, मतदान प्रक्रिया, गोप्य मतदानको महत्व तथा लोकतान्त्रिक प्रणालीमा नागरिकको भूमिकाबारे जानकारी दिइएको थियो ।