काठमाडौँ – रिलायन्स स्पिनिङ मिल्सको प्रिमिय मूल्यको आईपीओ सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला भएको छ । विदेशमा रहेका नेपालीहरूका लागि छुट्याइएको १० प्रतिशत शेयर बिक्रीपश्चात् कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता शेयर बिक्री खुला भएकोमा एक घण्टाभित्रै ओभर सब्सक्राइभ भएको छ । कम्पनीका अनुसार आवेदन निष्कासन भएको ५० मिनेटभित्रै २१ हजार ९५३ आवेदकले ११ लाख ५६ हजार ४८० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले जारी पुँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्कासन गरेको छ ।
प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताको लागि बाँडफाँट भइसकेको छ । सर्वसाधारण समूहमा निष्कासन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम– सर्वसाधारणका लागि खुलेको हो ।
वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ पनि करिब १७ गुणा बढी आवेदन परेकोमा सो शेयर बाँडफाँट भइसकेको छ ।
सर्वसाधारणका लागि खुला भएको आईपीओका लागि सर्वसाधरणले ७–११ पुससम्म आवेदन दिन सक्नेछन् । प्रिमियम मूल्य निर्धारण गरिएको कम्पनीको शेयर खरिदका लागि लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा खर्च गर्नुपर्ने हुन्छ । कम्तीमा ५० कित्ताका लागि एक व्यक्तिलाई ४१ हजार ४० रुपैयाँ चाहिन्छ ।