उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

काठमाडौँ – उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ ।

चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले नदी, पोखरी तथा विभिन्न जलाशयमा पुगेर उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिएका हुन् ।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो ।

सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । आज बिहान ०६ः१९ बजे सूर्योदय हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । यसरी सूर्योदय हुनुअघि कम्मरमुनिको भाग पानीमा डुबाएर सूर्यको प्रतीक्षा गरिन्छ । छठ समापनपछि आज छठ घाटमा प्रसाद वितरण गरिन्छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवम् सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार