कृत्रिम बौद्धिकता (AI) क्षेत्रमा पूर्व जासूसहरूको उच्च माग किन छ ?

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा प्रतिस्पर्धा बढ्दै जाँदा प्रविधि कम्पनीहरूले औद्योगिक जासुसी र व्यापारिक गोपनीयता चुहावट रोक्न पूर्वगुप्तचर अधिकारी तथा प्रतिजासुसी विशेषज्ञ नियुक्त गर्न थालेका छन् । यस्ता पदमा वार्षिक दुई लाखदेखि पाँच लाख डलरसम्म तलब प्रस्ताव गरिएको छ ।

वर्कफोर्स डेटा ट्रयाकर रेभेलियो ल्याब्सको तथ्यांकअनुसार एआई कम्पनीहरूमा सुरक्षा र प्रतिजासुसी सम्बन्धी जनशक्तिको माग तीव्र रूपमा बढेको छ ।

“एआई कम्पनीहरूले ठूलो संख्यामा सुरक्षा विज्ञहरू भर्ना गरिरहेका छन्,” अमेरिकी सिक्रेट सर्भिसका पूर्वएजेन्ट तथा इनसाइट रिस्क म्यानेजमेन्टका अध्यक्ष क्रिस्टोफर फाल्कनबर्गले भने । उनका अनुसार सरकारी सेवाबाट बाहिरिएका अनुभवी जनशक्ति एआई कम्पनीहरूको सुरक्षा व्यवस्थापनमा आकर्षित भइरहेका छन् । “सान्दर्भिक अनुभव भएका जनशक्तिको आपूर्तिभन्दा माग निकै बढी छ ।”

के हो कारण ?
एआई प्रविधि र व्यापारिक गोपनीयता विदेशी जासुसी तथा औद्योगिक जासुसीको निसानामा पर्न सक्ने चिन्ता बढेको बताइएको छ ।

ओपनएआईका एक इन्जिनियरलाई कम्पनीको कन्फरेन्स कक्षमा गोप्य रूपमा कुराकानी सुन्ने उपकरण जडान गरेको आरोपमा पक्राउ गरिएको थियो । उनी साउदी राज परिवारका एक सदस्यको सम्पर्कमा रहेको बताइएको छ ।

एनभिडियाका सहसंस्थापक जेन्सन हुआङको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उच्च अधिकारीहरूसँगको पहुँचलाई लिएर पनि अमेरिकी गुप्तचर निकायहरूले सुरक्षा चासो व्यक्त गरेको विवरण सार्वजनिक भएका छन् ।

रणनीतिक जोखिम तथा सुरक्षा फर्म ‘कन्ट्रोल रिस्क’की पूर्वसीआईए अधिकारी क्याथरिन मारिनिस–याकुबका अनुसार व्यापारिक गोपनीयता चोरी, ब्ल्याकमेल र दबाबमार्फत उच्च अधिकारीका कमजोरीको फाइदा उठाउनेजस्ता जोखिम पहिचान गर्न सक्ने क्षमताका कारण कम्पनीहरूले प्रतिजासुसी विज्ञलाई महत्व दिन थालेका छन् ।

उनले जिम वा कफी पसलमा हुने आकस्मिक भेटघाटजस्ता देखिने घटनाभित्र लुकेका सम्भावित जासुसीका जालबारे कार्यकारी अधिकारीहरूलाई सचेत गराउँछिन् । यस्ता भेट जासुसहरूले मित्रता गाँस्न, ब्ल्याकमेल गर्न वा भर्ती गर्ने उद्देश्यले योजनाबद्ध रूपमा गराएका हुन सक्छन् ।

“कम्पनीहरू अहिले यसबारे सचेत हुन थालेका छन्, तर अझै धेरै काम गर्न बाँकी छ,” उनले भनिन् ।

एन्थ्रोपिक र ओपनएआईमा सुरक्षा भर्ना बढ्यो
रेभेलियो ल्याब्सको तथ्यांक उद्धृत गर्दै एआई कम्पनीहरूमा प्रतिजासुसीसम्बन्धी नियुक्ति बढेको रोयटर्सले जनाएको छ ।

एन्थ्रोपिक कम्पनीले सन् २०२६ मा हालसम्म ३३ जना प्रतिजासुसीसम्बन्धी कर्मचारी नियुक्त गरेको छ । सन् २०२५ मा १४ र २०२४ मा नौजना नियुक्त गरिएको थियो । कम्पनीले पूर्वसीआईए उपनिर्देशक डेभिड कोहेन र एनएसएका पूर्वसाइबर सुरक्षा निर्देशक डेभ ल्युबरलाई राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद्मा समेत समेटेको छ ।

ओपनएआईमा सन् २०२६ मा प्रतिजासुसीसम्बन्धी नियुक्ति २२ पुगेको बताइएको छ, जुन सन् २०२५ मा नौ थियो । कम्पनीले यसअघि एनएसएका पूर्वनिर्देशक पल नाकासोनलाई सञ्चालक समितिमा नियुक्त गरेको थियो ।

एनभिडियाले यस वर्ष सुरक्षा तथा प्रतिजासुसी क्षेत्रमा १६ जना नियुक्त गरेको छ । चिप उपकरण निर्माता एएसएमएलले पनि ताइवानमा गुप्तचर अधिकारी नियुक्त गर्ने तयारी गरेको छ ।

अनुभवी जनशक्तिको अभाव
पूर्वअमेरिकी सिक्रेट सर्भिस अधिकारी फाल्कनबर्गका अनुसार माग बढे पनि अनुभवी प्रतिजासुसी विशेषज्ञको अभाव छ ।

एफबीआईका पूर्वअधिकारी एरिक ओनीलका अनुसार औद्योगिक जासुसी व्यावसायिक बैठक, सम्मेलन, सामाजिक भेटघाट वा डेटिङ एपमार्फत समेत सुरु हुन सक्छ । संवेदनशील विषयमा निरन्तर प्रश्न सोध्ने, प्रभावशाली कर्मचारीसँग निकटता बढाउन खोज्ने र सूचना गोप्य राख्न दबाब दिने व्यवहारलाई सम्भावित जोखिमका संकेतका रूपमा हेरिन्छ ।

निजी कम्पनीसँगै अमेरिकी रक्षा तथा गुप्तचर निकायहरूले पनि आर्थिक सुरक्षामा ध्यान बढाएका छन् । वासिङ्टन पोस्टको रिपोर्टअनुसार पेन्टागनले कर्पोरेट अधिकारीको भेषमा काम गर्ने ‘नन–अफिसियल कभर अफिसर्स’ परिचालन गर्ने जासुसी कार्यक्रमको तयारी गरिरहेको छ । यो अमेरिकी आर्थिक जासुसी तथा रणनीतिक प्रतिस्पर्धासम्बन्धी प्रयासको हिस्सा हुने बताइएको छ । सीएनबीसीटीभी

प्रतिक्रिया
सम्बन्धित समाचार