ललितपुर । २०४६ साल २ महिना ३१ गते बाट शिक्षण पेशामा प्रवेश गरी ३ वर्ष ल.पु. बाडेगाउँको बुद्ध मा.वि. (नि.मा.वि.) मा अध्यापन गर्दै आफू यस ल.पु. धापाखेलमा घरजम गरेपछि २०५०।०२।१३ वाट यस पध्म प्रकाश शिशु विद्यालयमा सरुवा भई आउनुहुने शिक्षिका हुन् निर्मला शिल्वाल। आउँदा उहाँलाई लाग्थ्यो यो सरकारी विद्यालय नभई एउटा अंग्रेजी माध्यमको निजी बोडिङ्ग स्कुल हो। उहाँले तिन वर्षसम्म बाडेगाउँ पढाउन जाँदा दिनदिनै देख्ने यस विद्यालय मन्दिर संगैको खुल्ला पाटीमा सधै बोर्डमा लेखिएको अंग्रेजी माध्यममा पढाई भईरहेको देख्दा लाग्थ्यो यो विद्यालय सरकारी भईदिए म पनि यसैमा शिक्षण पेशा गर्थे। आखिर उहाँको सपना एकदिन पूरा भयो। विद्यालय सरकारी (सामुदायिक) नै रहेछ तर स्वीकृति हुन बाँकी। स्वीकृतिको लागि शिक्षक दरबन्दी आवश्यक पर्ने रहेछ उहाँलाई दरबन्दी सहित जिल्ला शिक्षा कार्यालय ललितपुरबाट यसै विद्यालयमा सरुवा गरियो ।
करिब ३१ बर्ष यस विद्यालयमा विताउदाको अनुभवलाई समेतेर उहाँको भनाईलाई यहाँ प्रप्तुत गर्ने जमर्को गरिएको छ । सुनौ, बुझौ र मनन गरौ उहाँका आदर्शपूर्ण भनाईहरु ः
हालका हाम्रा प्रधानाध्यापक देवरत्न महर्जन सर पनि यसै विद्यालयमा कार्यरत हुनुहुन्थ्यो जब विद्यालयको स्वीक्ति भयो ठिक त्यति बेलानै उहाँले पनि शिक्षक सेवा आयोगमा नाम निकालेर सरकारले खटाएको विद्यालयमा जानुपर्ने बाध्यताले यस विद्यालय छोड्नुपरेको रहेछ ।
Father of our school (विद्यालयको जन्मदाता) स्वर्गीय जगतबहादुर बानियाँ जो पेशाले सामान्य ड्राईभर हुनुहुन्थ्यो । उहाँले शिक्षाको ज्योति सर्वसाधारणमा फैलाउने हेतुले मन्दिर नजिक रहेको सिस्नुको झाल फाँडेर विद्यालय बनाउने प्रस्तावले अन्य समाजसेवीको सहयोगले विद्यालयको जग उठाई पढाई सुरु गरियो तर वर्षेनी विद्यार्थीको लागि कक्षाकोठाको अभावमा आफ्नो छोराछोरी सुत्ने कोठालाई कक्षा कोठाको रुपमा प्रयोग गरी त्यसको समाधान गरियो । विद्यालयलाई आवश्यक पर्ने स–साना देखि जुनसुकै बस्तु सम्म उहाँको नै सहयोगमा विद्यालयको पठनपाठन संचालन गरि कक्षा ६ सम्म पुगेको विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक छनोट समिति, लेखा समिति जस्ता उप समिति गठन गरि सम्पूर्ण कार्यहरु पारदर्शी र निष्पक्ष रुपमा हुने गरेको थियो ।

२०५१ साल ५ महिना १३ गतेबाट मलाई एउटा शिशुको जिम्मेवारी बहन गरेझै यस पद्म प्रकाश शिशु विद्यालयको प्रधानाध्यापक जस्तो गरिमामय पदको जिम्मेवारी प्रदान गरियो । त्यसपछि थुप्रै चुनौतीहरुलाई पन्छाउदै अघि बढिरहे । म भन्दा अगाडीका कुसल प्रधानाध्यापकहरु धर्म लाल महर्जन, गणेश खड्का तथा देवरत्न महर्जनका साथै विद्यालय व्यवस्थापन समिति र सम्पूर्ण सहकर्मी शिक्षक साथीहरुको सल्लाह सुझाव र हातेमालोमा अंग्रेजी माध्यमको गुणस्तरीय शिक्षा प्रदान गर्नमा कुनै कसर छोडिएन । विद्यालयको भौतिक र आर्थिक अभावमा पनि शिक्षक साथीहरु जो न्यून पारिश्रमिकमा पनि खुशी साथ शिक्षण गर्नुहुन्थ्यो । विद्यार्थीहरुबाट उठाइएको थोरै शुल्कबाट सचिंत रकम दामासाही बाँडेर तलबको रुपमा लिएर खुशी साथ पठनपाठनमा तल्लीन भएर लाग्नुहुन्थ्यो । यहि समुदायका विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन समिति हातेमालो गर्दै संचालन भएको यस विद्यालयमा सबैले आफुले सकेको सहयोग पनि गर्नुहुन्थ्यो। अध्यक्ष श्री जगतबहादुर बानियाले आफ्ना घरका सामान समेत विद्यालयमा दिदाँ कुनै विरोध नगरी अभ्झ त्यसमा समर्थन गर्ने उहाँकी धर्मपत्नी तिर्थ कुमारी बानियाको त्याग हामी सबैको भन्दा कम छैन ।
आफ्ना छोराछोरीको कोठालाई कक्षाकोठा बनाईदिने र घरमा रहेका काठपात लगायत सम्पूर्ण सामाग्री विद्यालयमा पुरÞ्याउने आफ्नो श्रीमानको कार्यलाई उहाँले समर्थन गर्नु यो ठूलो बलिदान हो ।

त्यसो त प्राय सबै शिक्षकहरुले पनि त्यहि पाठ सिकेर रातदिन नभनी विद्यालयको काममा खटिनु हुन्थ्यो ।
विद्यालयमा कक्षाकोठा थप्नुपर्दा विद्यालय व्यवस्थापन समितिका पदाधीकारीहरु ईटा भट्टामा गएर सहयोगको अपिल गर्नुहुन्थ्यो, अभिभावकले गातो लगाउने काम गर्नुहुनथ्यो। सप्ताह लगाउने, देउसी भैलो खेल्ने गरेर आर्थिक संकलन गर्ने कार्य हुन्थ्यो । यसरी दाताहरुको सहयोगले मात्र चल्ने यस विद्यालयमा चरम आर्थिक अभाव थियो । विद्यालयको लेखा संचालन गर्न आवश्यक पर्ने रकम समेत हामी दरबन्दीमा रहेका शिक्षकले आफ्नो तलवबाट कटौती गरी लेखापाललाई तलब व्यवस्था गरेका थियौ ।
अध्यधिक विद्यार्थी वृद्धिका कारण कक्षा ८ पनि संचालन गर्नुपर्छ भनेर जिल्ला शिक्षा कार्यालय पुग्दा थाहा भयो कक्षा ८ को अनुमतिको लागि विद्यालयले २५,०००।– धरौटी राख्नु पर्ने रहेछ। उक्त धरौटी को व्यवस्थापन गर्नुहुने तत्कालिन गा.वि.स. अध्यक्ष दिनेश कार्की र गा.वि.स. उपाध्यक्ष गणेश खड्काको साथ सहयोग र समर्थनले मेरो पहलमा कक्षा ८ संचालन गरियो । अलिक वर्षसम्म कक्षा ८ मा नै सिमित रहेको यस विद्यालयले कक्षा ९ र १० पनि चलाएर विद्यालयलाई मा.वि. तह बनाउने सपना देख्न थाल्यौं ।
समय उसै गरि अभावमा वित्दै गयो तर हामी नडगमगाईकन अगाडी बढ्यौ। रकम अभावका कारण विद्यालयमा हुने सांस्कृतिक कार्यक्रमा गर्नुपरेमा शिक्षकका छोराछोरीको लताकपडा र शिक्षिकाहरुको मेकअपका सामानहरु सहयोग गरि अभाव पूर्ति गरिन्थ्यो ।

यस विद्यालयमा जापानिज नागरिकलाई मेरो देवर बाबु जिज्ञान थापा र दाई जिवन थापाले भेट गराई विद्यालयलाई सहयोग रकम जुटाई आर्थिक स्टेशनरी तथा पोशाक समेत सहयोग गर्नु भयो। यो निरन्तर चलिरह्यो ।
यस विद्यालयलाई सहयोग गर्ने शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा समाजसेवी सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु र उहाँहरुले पुर्याएकाे योगदान म शब्दमा व्यक्त गर्न सक्दिन । यहाँ मैले २,४ जनाको नाम लिदाँ अन्य व्यक्तित्वको नाम छुट्न जाने र उहाँहरुलाई म बाट अन्याय हुने हुनाले मैले कसैको नाम उल्लेख गर्न चाहिनँ । यस विद्यालयलाई ऋणी बनाउनु भएको छ, त्यो गुण म अहिले र कहिले पनि लिर्न सक्दिन ।
दिनहरु बित्दै गए, पछिल्ला दिनहरुमा मेरो काँधमा झन् झन् जिम्मेवारी बढ्दै गयो। यता मेरो घरायसी समस्या बालवच्चा हुर्काउने र धापाखेलवाट सातदोबाटोमा बसाईसराईको कारणले जति समय प्रधानाध्यापक भएर मैले दिनुपर्ने हो, सो दिन नसकेपछि उक्त कार्यभार समाल्नकै लागि मैले विद्यालय व्यवस्थापन समितिको सल्लाह बमोजिम यसै विद्यालयबाट चुनिदेवी प्रा.वि. मा. अध्यापन गरिरहनुभएको शिक्षक श्री देवरत्न महर्जनलाई सरुवा गराई उहाँले छोडेर जानुभएको यस शिशु विद्यालयलाई टुकु टुकु हिड्ने बनाएर फेरि मैले उहाँलाई नै सुम्पिदै प्रधानाध्यापकको जिम्मेवारी दिए ।

मलाई पदको कुनै लोभ, मोह र घमण्ड थिएन मैले यति बुझेको थिए की जो सुकै प्रमुख भएपनि विद्यालयलाई अग्रपंक्तिमा उभ्याउनुनै थियो । उक्त सपना साकार गर्ने कार्यमा हालका प्रधानाध्यापक देवरत्न महर्जनज्यूको भूमिका महत्त्वपूर्ण रहयो ।
उहाँले प्रधानाध्यापक पदमा रहेर पनि हरेक कुरामा म संग सर सल्लाह गर्दै विद्यालयको क्रियाकलापलाई अघि बढाउनु भयो ।
समयक्रम संगै जापानिज नागरिकहरुको सहयोगमा हालको ठूलो भवन निर्माण जग्गा खरिद तथा अन्य भौतिक विकास गरियो ।
मेरै पालामा कक्षा ९ को लागि अनुमति स्वीकृति लिने प्रकृया अगि बढाइएको थियो। त्यस पछि विद्यालयमा कक्षा ९ र अर्को वर्ष कक्षा १० समेत संचालन गरि यस विद्यालयले अनेक बाधा अड्चनलाई छिचोल्दै एस.ई.ई. परिक्षामा समावेश हुने मौका पायो। ल.पु.को सामुदायिक विद्यालयहरु मध्येमा अति नै उत्कृष्ट गर्दै यस विद्यालयले हरेक वर्ष राम्रो नतिजा ल्याउन सफल भएको छ। आज सम्म पनि अन्तरस्कूल प्रतियोगिताहरुमा प्राय प्रथम तथा द्वितिय स्थान ल्याउन सफल भएको छ ।
अध्यापन पेशाको पुर्वार्ध देखि उत्तरार्ध सम्म मलाई कसै प्रति कुनै गुनासो गर्ने ठाउँ दिनुभएन। आज सम्म पनि मलाई मेरा ती दिन देखि यी दिन सम्म सहकार्य गर्ने मेरा सहकर्मी शिक्षक शिक्षिकाहरु, वि.व्य.स. विद्यार्थी तथा सरोकार वाला सबैको आदर, सम्मान सहयोग र जुन अगाध माया दिनुभएको छ त्यो नै मेरा लागि मैले कमाएको सम्पत्ति हो।

प्रधानाध्यापक भएर पनि कुनै पनि कार्य थाल्नु अघि मसंग सल्लाह गरि मलाई कहिल्यै हिनताबोध हुन नदिएकोमा मुरी मुरी धन्यवाद ।
अन्तमा ३६ वर्षे शिक्षण पेशा मलाई कहिले बोझ लागेन वरु मेरा प्यारा विद्यार्थी भाइबहिनीहरु संग घुलमिल गर्न पाउँदा आफूलाई हरेक दिन चुस्त र स्फूत पाएँ।
“सम्पूर्णमा आभार“
यसरी आफ्नो महत्वपूर्ण समय शिक्षण पेशामा समर्पित गर्दै ३६ वर्ष मध्य ३१ बर्ष यस श्री पद्म प्रकाश माध्यमिक विद्यालयमा विताउनु भएका निर्मला शिल्वाल मिसले शिक्षण पेशालाई कहिल्यै बोझको रुपमा नलिई विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिको मन मन्दिरमा बस्न सफल हुनुभएकोमा हार्दिक बधाई सहित उहाँको अनिवार्य अवकाश पछिको जिवन सुखद सफल प्रगति र उल्लासमय बनोस । विद्यालयको तर्फवाट हार्दिक आभार ।
१) स्थायी नियुक्ती (२०४६/०२/३१)
२) बुद्ध मा.वि. मा हाजिर २०४६/०३/२८
३) पद्म प्रकाशमा प्रधानाध्यापक भएको २०५१/०५/१३
४) पद्म प्रकाशमा हाजिर २०५०/०२/१३
५) प्रा.वि. प्रथम बढुवा २०६१/१०/२१