काठमाडौं– सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले यही मंसिर २४ देखि पुस १ गतेसम्म सडक बन्द हुने संयुक्त सूचना प्रकाशित गरेका छन् ।
सूचना अनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक आवागमन बन्द हुनेछ ।
सो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिने छन्। सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ ।
मुग्लिङबाट काठमाडौंतर्फ आउने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिने छन् । साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । सूचना अनुसार सीतापाईला भिमढुङ्गा, रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ । रोकिएका सबै सवारीसाधनलाई दिउँसो साढे ३ बजेपछि मात्र छाडिने सूचनामा उल्लेख छ ।