विकास बैंकहरुको नाफा ६०.५४ प्रतिशतले बृद्धि

काठमाण्डौ । विकास बैंकहरुको मुनाफा दोब्बर बढेको छ । नेपाल राष्ट्र बैकका अनुसार चालु आवको ७ महिनासम्ममा विकास बैंकहरुले ४ अर्ब एक करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ६०.५४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म विकास बैंकहरुले २ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका थिए ।

सो अवधिसम्म आइपुग्दा १३ बैंक नाफामा छन् भने ४ विकास बैंकले घाटा ब्यहोरेका छन् । नाफामा रहेका बैंकहरुले गत आवको तुलनामा उल्लेख्य मुनाफा बढाएका छन् । सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ८२ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३०.५० प्रतिशत बढी हो ।

त्यस्तै, गरिमा विकास बैंकले ७७ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको तुलनामा १४.०८ प्रतिशत बढी हो । यसका साथै शाइन रेसुङ्गाले ५१ करोड ८२ लाख, कामना सेवा विकासले ४७ करोड ६० लाख, ज्योति विकास बैंकले ३८ करोड ५६ लाख, सांग्रिला डेभलपमेन्टले ३५ करोड ७६ लाख, महालक्ष्मी विकासले २८ करोड ३४ लाख, लुम्बिनीले २६ करोड ४८ लाख, एक्सेल डेभलपमेन्ट बैंकले ७ करोड १९ लाख, मितेरीले ६ करोड ८० लाख, कर्णालीले २ करोड ९१ लाख, सप्तकोशीले २ करोड ७३ लाख र ग्रीन डेभलपमेन्ट बैंकले १ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार