काठमाडाैँ । पश्चिम एसियामा बढ्दो तनावबीच इरानले अमेरिका र इजरायललाई कडा चेतावनी दिएको छ। इरानले “अपरेसन ट्रु प्रमिस–४” को ४६औँ चरण सुरु गरेको घोषणा गर्दै शत्रु पक्षले बगाएको रगतको हरेक थोपा बराबरको मूल्य चुकाउनुपर्ने बताएको हो।
इरानी सेनाका प्रवक्ता एब्राहिम जोल्फाघरीका अनुसार यस चरणमा अत्याधुनिक मिसाइल र ड्रोन प्रयोग गरी अमेरिका तथा इजरायलका सैन्य अड्डा र कमाण्ड केन्द्रलाई लक्ष्य बनाइएको छ। उनका अनुसार इजरायलभित्र रहेका केही सैन्य केन्द्र तथा अमेरिकी फौजका क्षेत्रीय अड्डामाथि आक्रमण गरिएको दाबी गरिएको छ।
इरानले दिएको जानकारीअनुसार तेल अभिभका सात स्थान, रिसोन लेजियनका दुई स्थान र सोहाम क्षेत्रका एक स्थानलाई निशाना बनाइएको छ। त्यसैगरी अमेरिकी सैन्य उपस्थिती भएका ‘किङ सुल्तान’, ‘भिक्टोरिया’ र ‘अर्बिल’ बेसमाथि पनि कारबाही गरिएको दाबी गरिएको छ।
प्रवक्ता जोल्फाघरीले इरानी वायु प्रतिरक्षा प्रणालीले हालै फिरोजाबाद, बन्दर अब्बास र तब्रिज क्षेत्रमा अमेरिकी एमक्यू–९ ड्रोनसहित अन्य विमानलाई रोकेर ध्वस्त पारेको पनि बताएका छन्। उनका अनुसार अहिलेसम्म ११२ वटा लडाकु, जासुसी तथा आत्मघाती ड्रोन नष्ट गरिएको छ। यी कारबाही इरानी सेना, एरोस्पेस फोर्स, नौसेना तथा हिजबुल्लाहको संयुक्त रणनीतिक अभियानको हिस्सा भएको उनले बताए।
यसअघि सञ्चालन गरिएको ४५औँ चरणको अभियान ‘या साहेब अल–जमान, अल्लाह छिट्टै तपाईंको मद्दत गरून्’ भन्ने कोडसहित सुरु गरिएको थियो। यो अभियान अन्तर्राष्ट्रिय कुड्स डे मार्चको अवसर पारेर सञ्चालन गरिएको थियो। उक्त चरणमा ‘खैबर–शेकन’ नामक सोलिड–फ्युल प्रिसिजन मिसाइल तथा आक्रमणकारी ड्रोन प्रयोग गरिएको थियो।
इरानले हाइफा, क्यासरिया, जरित र स्लोमी क्षेत्रका सैन्य संरचना तथा होलोनस्थित मिलिट्री–इन्डस्ट्रियल कम्प्लेक्सलाई पनि लक्षित गरिएको जनाएको छ। साथै ‘अल धाफ्रा’ र ‘अर्बिल’ क्षेत्रमा रहेका अमेरिकी अड्डामा आक्रमण अघि चेतावनी दिइएको इरानी पक्षको दाबी छ।
यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले आफ्नो ड्रोन क्षमताको सार्वजनिक प्रदर्शन गरेको छ। मेहर समाचार एजेन्सीका अनुसार भूमिगत सुरुङभित्र ठूलो संख्यामा ड्रोन प्रदर्शन गरिएको थियो। उक्त कार्यक्रममा आयातोल्लाह मुजतबा खामेनीईको तस्वीर अगाडि राखेर शक्ति प्रदर्शन गरिएको बताइएको छ।