काठमाडौं – बिहीबार बिहानका रातिदेखि नै उपत्यकासहित देशभर वर्षा भइरहेको छ। देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभावले वर्षा भइरहेकाले केही नदीमा बाढीको जोखिमसमेत बढेको छ।
पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीको बहाव बढ्नेछ। यसको प्रभाव शनिबारसम्म नै रहने महाशाखाले जनाएको हो। महाशाखाले यी प्रदेशका नदी किनारका बासिन्दालाई सतर्क रहन अनुरोधसमेत गरेको छ।
महाशाखाका अनुसार बिहीबार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भएर बग्ने नदीमा बाढीको जोखिम रहेको छ। आकस्मिक रुपमा बाढी आउनसक्ने भन्दै महाशाखाले यात्रा गर्दासमेत सचेत हुन अनुरोध गरेको छ।