९० अर्ब रूपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो । १२ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको केन्द्रीय बैंकले ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुने जनाएको छ ।

मंगलबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २०८२ कात्तिक २ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले कबोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

अहिले कुल निक्षेप ७३ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार