काठमाडौं । अमेरिकाले एच–१बी भिसामा ठूलो कदम चाल्दै आवेदन शुल्कलाई वार्षिक एक लाख डलर पुर्याएको छ । ह्वाइट हाउसको यस निर्णयले भारतीय आईटी कम्पनीहरूका सामु गम्भीर संकट खडा भएको छ ।
यस्तो अवस्थामा भारतीय आईटी उद्योग सङ्गठन नैसकम (नेशनल एसोसिएशन अफ सफ्टवेयर एन्ड सर्भिसेज कम्पनीज)ले यसबाट बिजनेस कन्टिन्युटीमा मात्र नभई रोजगारीमा पनि सिधा असर पर्ने चेतावनी दिएको छ । यो नियम सेप्टेम्बर २१ देखि लागु हुने उल्लेख छ ।
जसको अर्थ यो कार्यकारी आदेशलाई कार्यान्वयन गर्न एक दिनको मात्र समय दिइएको छ । नैसकमले यति कम समयले कम्पनीहरू, पेशेवरहरू र विद्यार्थीहरूका लागि भारी अनिश्चितता सिर्जना गरेको बताएको छ ।
यसबाट प्रोजेक्टहरूमा पनि असर पर्ने दि इकोनोमिक्स टाइम्सले जनाएको छ ।
नैसकमका अनुसार भारतीय प्रविधि सेवा कम्पनीहरूले लामो समयदेखि अमेरिकी कम्पनीहरूसँग मिलेर काम गरिरहेका छन् । यस्तोमा अचानक यति धेरै शुल्क लगाउँदा उनीहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुनेछ ।
विशेष गरी अमेरिकामा प्रत्यक्ष रूपमा चलिरहेका परियोजनाहरूमा यसले असर पार्नेछ ।