तुइन खोला पहिरो : यात्रुहरू शुक्रबारदेखि सडकमै अलपत्र, खुलाउने प्रयास जारी

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरु गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो ।

पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार आज बिहान पहिरो पन्छाउने काम थालिएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ ।

इच्छाकामना गाउँपालिका– ६ तुइन खोलामा शुक्रबार साँझ खसेको पहिरो पन्छाउने कार्य जारी रहेको हो । रातको समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो । पुनः पहिरो नखसे आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउन सकिने उनको दाबी छ । करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको छ भने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो ।

पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार