काठमाडौं– थाइल्यान्डमा नयाँ प्रधानमन्त्री चयन गर्न आज संसद्मा मतदान गरिने भएको छ। प्रधानमन्त्री चयनका लागि संसद बैठक जारी छ।
देशमा जारी राजनीतिक संकट समाधानका निम्ति ठूला पार्टीहरूले नयाँ प्रधानमन्त्री चयन हुनासाथ चाँडै नै संसद् विघटन गरी आमनिर्वाचन गराउने प्रतिबद्धता गरिरहेका बताइएको छ।
देशको संविधानअनुसार सन् २०२० को आमचुनावमा छनोट भएका पाँच उमेदवार मात्र प्रधानमन्त्री पदका निम्ति योग्य छन्। तीमध्ये भूमजैथाई पार्टीका नेता अनुतिन चार्नविराकुललाई प्रबल दाबेदार मानिएको छ।
गएको साता थाइल्यान्डको संवैधानिक अदालतले फू थाई पार्टीकी नेता पेटोङटार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटाएको थियो।
कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग फोनमा कुरा गरेको उनीमाथि आरोप थियो। उक्त कुराकानी त्यति बेला भएको थियो, जब थाइल्यान्ड र कम्बोडियाबीच सीमा विवाद चलिरहेको थियो। यसलाई राजनीतिक नैतिकताको नियमको उल्लंघन मानिएको थियो।
हाल अन्तरिम सरकार चलाइरहेको फू थाई पार्टीले मंगलबार संसद् विघटन गर्ने प्रयास गरे पनि कार्यवाहक प्रधानमन्त्रीले राजाका सल्लाहकारहरूको एक विशेष समितिले यो अनुरोध अस्वीकार गरेको बताए।
बिहीबार फू थाई पार्टीले पूर्वमहान्यायाधिवक्ता र पूर्वन्यायमन्त्री चायकासेम नीतिसिरीलाई प्रधानमन्त्री पदका निम्ति मनोनयन गर्ने घोषणा गरेको छ। चायकासेमले आफू प्रधानमन्त्री निर्वाचित भएमा शपथग्रहण गरेपछि तुरुन्तै संसद् विघटन गर्ने बताएका छन्।