युक्रेन सहमत नभए युद्धबाटै उद्देश्य पूरा गर्ने पुटिनको चेतावनी

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले वार्तामार्फत सहमति गर्न नमाने आफ्ना सबै उद्देश्यहरू युद्धमार्फत हासिल गर्ने बताएका छन् । पुटिनको यो टिप्पणी चीनमा एउटा विशाल सैन्य परेडमा सहभागी भएपछि आएको हो । यो भनाइलाई डोनाल्ड ट्रम्प र अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई चुनौतीको रूपमा हेरिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनलाई युद्ध अन्त्य गर्न मनाउने प्रयास गरेका थिए । रूसी नेताले ट्रम्पको प्रयासको प्रशंसा गरे पनि अहिलेसम्म त्यसो हुनसकेको छैन । चीनमा बोल्दै पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटको सम्भावनालाई कहिल्यै अस्वीकार नगरेको तर यसको कुनै अर्थ छ वा छैन हेर्ने बताएका थिए ।

उनले यस्तो भेटले परिणाम दिन तयारी आवश्यक रहेको र जेलेन्स्कीले मस्को गएर आफूलाई भेट्न सक्ने पनि बताए । तर, यसलाई युक्रेनका विदेशमन्त्रीले यो अस्वीकार्य रहेको बताए । रूसले युक्रेनमाथि फेब्रुअरी २०२२ देखि आक्रमण सुरु गरेको थियो ।

यसैबीच, ह्वाइट हाउसमा पोल्यान्डका राष्ट्रपति कारोल नाव्रोकीलाई स्वागत गर्दै ट्रम्पले पत्रकारहरूसँग राष्ट्रपति पुटिनलाई आफ्नो कुनै सन्देश नभएको बताए । तर, उनलाई आफ्नो अडान के हो भन्ने थाहा भएको बताए ।

उनले मस्कोविरुद्ध प्रभावकारी कदम नचालेको प्रश्नमा आपत्ति जनाए । उनले रूसी तेल खरिदका लागि भारतमाथि लगाइएका दोस्रो तहका प्रतिबन्धहरूको उल्लेख गर्नुका साथै अझै दोस्रो र तेस्रो चरणको काम गर्न बाँकी रहेको बताए ।

बेइजिङमा एक रूसी सरकारी टिभी पत्रकारले युक्रेनमा युद्ध चाँडै अन्त्य हुन सक्छ भनेर सोधेको प्रश्नमा रूसी नेताले कठिन वा अन्धकारपूर्ण परिस्थितिको अन्त्य नजिकै रहेको र त्यसपछि राम्रो समय आउने बताए ।

“मलाई लाग्छ, कमन सेन्सलाई ख्याल गर्ने हो भने यो द्वन्द्वको अन्त्यका लागि एक स्वीकार्य समाधानमा सहमत हुन सम्भव छ,” पुटिनले भने, “यदि, भएन भने हामीले हाम्रा सबै कार्यहरू सैन्य रूपमा समाधान गर्नुपर्नेछ ।”

तर, उनले आफ्नो सेनाले कब्जा गरेको पूर्वी युक्रेनको डोनबास क्षेत्र रूसले नत्याग्नेमा जोड दिए ।

रूसी नेताले युक्रेनलाई नेटो सदस्यता नखोज्न र जातीय रूसीहरूविरुद्धको भेदभाव रोक्न आफ्ना मागहरू दोहोर्‍याए । यो रूसको युक्रेनविरुद्ध आक्रमणको बहानाको रूपमा उल्लेख गरिएका आरोपहरूमध्ये एक हो ।

पुटिनले भविष्यको शान्ति सम्झौतापछि पश्चिमा देशहरूको सुरक्षा ग्यारेन्टीहरू डोनबास क्षेत्रहरूसँग सम्बन्धित नहुने संकेत गरे । त्यहाँका बासिन्दाहरूले रूसमा सामेल हुन मतदान गरेका थिए । बीबीसी

प्रतिक्रिया
सम्बन्धित समाचार