काठमाडौं । धितोपत्र बजारमा उत्पादन तथा प्रशोधनमूलक क्षेत्रको हिस्सा कम छ । नियामक नेपाल धितोपत्र बोर्डले उत्पादनमूलक उद्योगहरूलाई धितोपत्र बजारमा प्रवेश गराउन प्रिमियम र बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न दिने नीतिगत व्यवस्था गरेको छ । यही नीतिगत व्यवस्थाले गर्दा विभिन्न १६ उद्योगले प्रिमियम र अंकित मूल्यमा २७ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएका छन् । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको मूल्यका कारण बुक बिल्डिङ विधि विवादित बनेको छ ।
चालु आर्थिक वर्ष सुरु भएपछि धितोपत्र बोर्डले तीन उत्पादनमूलक उद्योगहरूलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले सागर डिस्टिलरी लिमिटेड, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् । तीन उद्योगले ९९ करोड ४७ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्दै छन् । सागर डिस्टिलरीले चुक्तापुँजीको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख, श्रीनगरले २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार र एसवाई प्यानलले ५२ करोड ३२ लाख ५४ हजार ८८० रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेका हुन् ।
०८२ असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । यस्तै, ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका छन् । सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५४.१ प्रतिशत छ । त्यसैगरी, जलविद्युत् कम्पनीको १५.३ प्रतिशत, लगानी कम्पनीको ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४, व्यापारिक संस्थाको हिस्सा ५, होटलको २.७ तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.८ प्रतिशत छ ।