काठमाण्डौको मेयरमा सुमना श्रेष्ठको दाबेदारी, पार्टीबाट कि स्वतन्त्र उम्मेदवारी ?

काठमाण्डौ । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगामी स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिकाको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेकी हुन्।

श्रेष्ठले आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाण्डौको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्।

यद्यपि उनले कुनै राजनीतिक दलको तर्फबाट उम्मेदवारी दिने वा स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिने भन्ने विषयमा स्पष्ट पारेकी छैनन्।

रास्वपाको सहमहामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी श्रेष्ठ पछिल्लो समय पार्टीको सक्रिय राजनीतिबाट टाढिएकी थिइन्। शिक्षा मन्त्रीको जिम्मेवारीमा रहँदा उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्।

शिक्षा क्षेत्रमा सुधार र सुशासनका विषयमा सार्वजनिक रूपमा आवाज उठाउँदै आएकी श्रेष्ठले अब स्थानीय सरकारको नेतृत्वमा पुग्ने आकांक्षा सार्वजनिक गरेकी हुन्।

उनको घोषणासँगै काठमाण्डौ महानगरपालिकाको आगामी नेतृत्वका लागि हुने चुनावी प्रतिस्पर्धामा नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावनाबारे चर्चा सुरु हुने देखिएको छ।

तर श्रेष्ठको उम्मेदवारीलाई कुनै राजनीतिक दलले समर्थन गर्ने वा उनले स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने भन्ने विषय भने अझै खुलिसकेको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार