गण्डकी बोर्डिङका दुई सय विद्यार्थी एकैपटक बिरामी 

पोखरा । पोखराको गण्डकी बोर्डिङ स्कुलका सयौँ विद्यार्थी अचानक बिरामी भएका छन् । क्याम्पस प्रशासनले बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म झन्डै दुई सय विद्यार्थीमा पखाला लाग्ने समस्या देखिएको जनाएको छ ।

क्याम्पसका निमित्त प्राचार्य कृष्णबहादुर थापाले प्राय सबै विद्यार्थीहरूमा एकैखाले समस्या (पखाला लाग्ने) देखिएको जानकारी दिए । विद्यालयमा ठूलो संख्यामा विद्यार्थीहरू एकैपटक बिरामी भएपछि सामाजिक सञ्जालमा समेत अभिभावकहरूले जिज्ञासा उठाएका छन् ।

एक अभिभावकका अनुसार, विद्यार्थीहरूमा एकाएक पेट दुख्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने लगायतको समस्या देखिएको थियो ।

विद्यालय प्रशासनले भने फुड पोइजनिङ (विषाक्त खाना)को आशंका गरेको छ । थापाका अनुसार, बिहीबार विद्यार्थीहरूको मेसमा मासु पकाइएको थियो । सोही मासुका कारण विद्यार्थीहरूमा समस्या देखिएको हुनसक्ने उनले बताए ।

बिरामी भएका केही विद्यार्थीलाई आफन्तलाई बोलाएर घर पठाइएको छ भने केहीलाई विद्यालयको हेल्थ सेन्टरमा राखिएको थियो । थापाका अनुसार, विद्यार्थीहरू शुक्रबार घर जान पाउने दिन हो । त्यसका कारण पनि धेरै विद्यार्थी अभिभावकसँग गएका छन् भने केही विद्यार्थी छात्रावास (होस्टेल)मा नै छन् ।

विद्यार्थीहरूमा बिहानको जस्तो समस्या अहिले भने नदेखिएको प्राचार्य थापाले जानकारी दिए । “रातिदेखि बिहानसम्म समस्या देखिएको हो । दिउँसो त बच्चाहरू (विद्यार्थी) खेलिरहेका थिए । अहिले समस्या छैन,” उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार