काठमाडौं । चालु आर्थिक बर्ष २०८२–८३ को पहिलो महिना साउनमा वाणिज्य बैंकहरुमा रहेको निक्षेप ५२ अर्ब रुपियाँले घटेको छ । नेपाल बैंकर्स संघले तयार पारेको साउन महिनाको कर्जा निक्षेप सम्बन्धी प्रारम्भिक तथ्यांकले निक्षेप ५२ अर्ब रुपियाँले घटेको देखाएको हो ।
हाल नेपालमा २० वाणिज्य बैंक रहेका छन् । गत आवको अन्तिम दिन अर्थात् असार मसान्तसम्म २० वाणिज्य बैंकमा ६५ खर्ब ३१ अर्ब रुपियाँ निक्षेप थियो । साउन मसान्तसम्म आउँदा त्यो ६४ खर्ब ७९ अर्ब रुपियाँमा सीमित भएको छ ।
तथ्यांकअनुसार साउनको पहिलो दुई दिन (१ र २ गते) मा मात्रै १९ अर्ब ७० करोड रुपियाँले निक्षेप घटेको थियो । यस्तै, साउन ३–९ गतेसम्ममा ३७ अर्ब ५६ करोड रुपियाँले निक्षेप घटेको देखिन्छ ।
त्यसपछि साउन १०–१६ गतेसम्ममा एक अर्ब १७ करोड रुपियाँ र साउन १७–२३ गतेसम्ममा १८ अर्ब ९० करोड रुपियाँले निक्षेप बढेको छ । त्यसपछि साउन २४ देखि ३१ गतेसम्ममा १५ अर्ब तीन करोड रुपियाँले घटेको तथ्यांकमा उल्लेख छ ।
आर्थिक बर्षान्तका कारण असारमा सरकारको खर्च उच्च हुन्छ । त्यसले गर्दा असारमा बैंकहरुमा निक्षेप उच्च दरमा बढ्छ । तर, साउन लागेपछि भने निर्माण कम्पनी लगायतका संस्थाले बैंकबाट पैसा झिकेर श्रमिक लगायतलाई भुक्तानी दिने गर्छन् । त्यसले गर्दा साउनमा निक्षेप घट्ने गर्छ । सामान्यत भदौ पछि भने निक्षेप बढ्दै गएको थियो ।
यस्तै, साउनमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि ११ अर्ब रुपियाँले घटेको छ । कर्जा बक्यौता ९आउटस्ट्यान्डीङ० का आधारमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह घटेको देखिएको हो ।
असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४९ खर्ब ७५ अर्ब रुपियाँ थियो । साउन मसान्तसम्म आउँदा त्यो ४९ खर्ब ६४ अर्ब रुपियाँमा सीमित भएको छ ।