काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुला गरेको आईपीओ आज (साउन २९) बाँडफाँट भएको छ ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय नयाँ बानेश्वरमा बाँडफाँट गरिएको हो ।
लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल र मेरोसेयर एकाउन्ट बाट आईपीओको नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइटबाट पनि रिजल्ट हेर्न सक्नेछन् ।
बिक्री अवधिभर कम्पनीको आईपीओमा २२ लाख ९६ हजार ४६५ जनाले २ करोड ६४ लाख ९८ हजार ५९० कित्ताका आवेदन दिएका थिए । यीमध्ये १ लाख ८५ हजार ९१० आवेदन अस्वीकृत भएका छन् ।
उक्त आईपीओ २ लाख ४२ हजार २ सय १३ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाएका छन् ।
कम्पनीले ३९ लाख ५० हजार कित्ता आईपीओ सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।