अमेरिकाबाट हतियार तथा विमान खरिद गर्ने योजना भारतद्वारा स्थगित

काठमाडौँ– भारतले अमेरिकाबाट नयाँ हतियार र विमान खरिद गर्ने योजना हाललाई स्थगित गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तुको निर्यातमाथि लगाएको ५० प्रतिशत भन्सार महसुल ९ट्यारिफ० को प्रतिक्रियास्वरूप भारतले उक्त कदम चालेको बताइएको छ ।

रोयटर्स समाचार संस्थाले तीन जना भारतीय अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार भारतले केही साताभित्रै रक्षामन्त्री राजनाथ सिंहलाई हतियार खरिदको घोषणा गर्न वासिङ्टन पठाउने योजना बनाएको थियो । तर, अहिले उक्त भ्रमण रद्द गरिएको छ ।

रोयटर्सका अनुसार भारतले जनरल डाइनामिक्स ल्यान्ड सिस्टम्सले बनाउने ‘स्ट्राइकर’ लडाकु गाडी र रेथिअन तथा लकहिड मार्टिनले विकास गरेको ‘ज्याभलिन’ एन्टिट्यांक क्षेप्यास्त्र खरिद गर्ने विषयमा भएको छलफल हाललाई रोकिएको छ । यद्यपि, भारतले शुक्रबार विज्ञप्ति जारी गर्दै हतियार वार्ता रोकिएको खबर ‘झूटो र कपोलकल्पित’ भएको जनाएको छ ।

यस साताको सुरुमा ट्रम्पले भारतीय सामग्रीमाथि २५ प्रतिशत थप कर लगाएपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ । ट्रम्पले रुस–युक्रेन युद्धमा मस्कोलाई आर्थिक सहयोग गरेको भन्दै भारतलाई दण्ड दिन यसो गरिएको बताएका छन् । यससँगै भारतीय वस्तुको निर्यातमा कुल भन्सार शुल्क ५० प्रतिशत पुगेको छ । ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि फेब्रुअरीमा यी सामग्रीको खरिद र संयुक्त उत्पादनको योजना अगाडि बढाउने तयारी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार