पर्वत । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् ।
जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका रहेका छन् । लामो समयदेखि विद्यार्थी सङ्ख्या शून्य भइसक्दा पनि विद्यालयहरू समायोजन गर्ने प्रक्रिया समेत थालिएको छैन ।
जिल्लाका सात स्थानीय तहमा २७२ सामुदायिक विद्यालय रहेका छन् । विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको विद्यालय समेत रहेको छ । जिल्ला शिक्षा समन्वय एकाइ पर्वतले दिएको जानकारीअनुसार विहादी गाउँ पालिकामा दुई सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य रहेको छ । मोदी गाउँपालिकामा नौ विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य भएको छ ।
यसैगरी फलेवास नगर पालिकामा छ वटा सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य पुगेको हो भने कुश्मा नगर पालिकामा विद्यार्थी सङ्ख्या शून्य भएका आठ सामुदायिक विद्यालय रहेका एकाइले जानकारी दिएको छ ।
यस्तै जलजला गाउँ पालिकामा चार सामुदायिक विद्यालयमा विद्यार्थी शून्य रहेका छन्भने दक्षिण पर्वतको पैयूँ गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो । उहाँका अनुसार फलेवास नगरपालिका–५ मा रहेको ध्रुवनमुना माध्यमिक विद्यालयसहित ३१ सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य रहेको भए पनि स्थानीय तहहरूले समायोजन गर्ने वा शिक्षकलाई विद्यार्थी भएको विद्यालयमा खटाउे काम नगरेको बताउनुभयो ।