काठमाण्डौ । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना ‘एनआई ३१ ’ को इकाई बिक्री यही साउन ३० गतेदेखि हुने भएको छ । नबिल बैंक कोष प्रवद्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड ५० लाख इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।
जसमध्ये १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने १ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणहरुमा १ करोड १२ लाख ५० हजार इकाई निष्कासन गर्न लागिएको हो ।
यसपश्चात योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरिदबिक्रीको लागि खुला गरिनेछ । यो योजना खुलामुखी योजना भएकाले निरन्तर चलिरहनेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा २५ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।