काठमाडौं– गाजा क्षेत्रमा सक्रिय लडाकु समूह हमास र प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) ले इजरायली बन्दीको भिडियो सार्वजनिक गरेपछि चिन्ता र आक्रोश निम्त्याएको छ । भिडियो सार्वजनिक भएपछि बन्धकको परिवार चिन्तित बनेका छन् भने इजरायलमाथि युद्धविराम गर्न दबाब पैदा भएको छ ।
हमास र पीआईजेले गत साता दुई बन्धकको भिडियो सार्वजनिक गरेका थिए । गत बिहीबार पीआईजेले आफ्नो कब्जामा रहेका इजरायली नागरिक २१ वर्षीय रोम ब्रास्लाभ्स्कीको ६ मिनेट लामो भिडियो जारी गरेको थियो । त्यसैगरी, हमासले पनि गत शनिबार अर्का इजरायली नागरिक २४ वर्षीय एभ्यातार डेभिडको भिडियो सार्वजनिक गरेको थियो ।
भिडियोमा दुबै बन्धक धेरै दुब्लाएको र कुपोषित देखिन्छ । उनीहरुको शरीर सुकेर करङ र हाडछाला मात्रै बाँकी रहेको देखिन्छ । उनीहरुको आँखा गाडिएका छन् । उनीहरुको अनुहारमा थकान र भोकमरीको स्पष्ट असर देखिन्छ । उनीहरु भयवित देखिन्छन् । उनीहरुलाई बोल्न पनि कठिन भइरहेको प्रतीत हुन्छ ।
भिडियोमा देखिएअनुसार डेभिडलाई कुनै अज्ञात सुरुङमा राखिएको छ । उनले आफू धेरै दिनदेखि सीमित खानेकुरा र पानीको भरमा भोकै बसेको बताएका छन् । त्यसैगरी, ब्रास्लाभ्स्कीको अवस्था पनि उस्तै छ । पीआईजेले ब्रास्लाभ्स्कीसँगको सम्पर्क टुटेको केही दिनअघि उक्त भिडियो खिचेको जनाएको छ । हाल ब्रास्लाभ्स्की र उनलाई बन्धक बनाउने लडाकुसँग सम्पर्क टुटेका कारण उनको अवस्था अज्ञात रहेको पीआईजेले उल्लेख गरेको छ ।
प्यालेस्टाइनी लडाकु समूहले जारी गरेका यी भिडियोलाई मनोवैज्ञानिक युद्धको हतियारका रुपमा हेरिएको छ । विगत लामो समयदेखि गाजा क्षेत्रमा एकोहोरो आक्रमण गर्दै आएको इजरायललाई युद्धविरामका लागि बाध्य पार्न लडाकु समूहले यस्तो भिडियो सार्वजनिक गरेको विश्लेषण गरिएको छ । आतंककारी समूहको प्रचार हुने र आफूहरुको भावनामा ठेस लाग्ने भन्दै पीडितका परिवारले उनीहरुको भिडियोको पूर्ण र सार्वजनिक प्रसारण नगरिदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन् ।
ब्रास्लाभ्स्कीको परिवारले भिडियोको सानो अंश मात्रै सार्वजनिक गर्न अनुमति दिएको छ । परिवारले यो भिडियोमा ‘रोमलाई भाँचिएको’ अवस्थामा देखिएको भन्दै इजरायल सरकार र अन्तर्राष्ट्रिय नेताहरूसमक्ष उनको रिहाइका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।