काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ४७.९३ अंकले घटेको छ । आज नेप्से परिसूचक १.५९ प्रतिशतले घटेर २,९५४.१४ विन्दुमा बन्द भएको हो ।
मंगलबार नेप्से परिसूचक चार वर्षयताकै उच्च विन्दुमा पुगेर ३,००२.०७ विन्दुमा बन्द भएको थियो । एक वर्षपछि मंगलबार ३,००० विन्दु पार भएकाले पनि बुधबार (आज) लगानीकर्ताले आफ्नो नाफा बुक गरेको देखिन्छ । पछिल्ला १६ कारोबार दिनमा बजार २०० अंक माथि लागेको थियो ।
मंगलबार एकैदिन ३० अंकले बढेकाले पनि बजारमा प्रोफिट बुक गर्नेहरू हाबी भएको देखिन्छ । बजारको प्रकृति घट्ने र बढ्ने भएकाले यसको स्वाद सबैले पाउनुपर्ने लगानीकर्ता तथा सेयर प्रशिक्षक सुवासचन्द्र भट्टराई बताउँछन् ।
“दोस्रो बजार सबैका लागि हैन । बजार घट्दा किन्ने अवसर हुन्छ । तर, अहिलेको ट्रेन्डले नयाँ उचाइ बनाउने संकेत गरेको छ,” भट्टराईले भने ।
आज सेयर कारोबार रकम दुई अर्बले घटेको छ । यसदिन १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज २३ कम्पनीको सेयरमूल्य बढ्दा २२६ कम्पनीको सेयरमूल्य घटेको छ । सान्भी इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । ट्रेड टावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सान्भी इनर्जीको सेयरमूल्य प्रतिकित्ता ८४५ रुपैयाँ ९० पैसा कायम भएको छ । ट्रेड टावरको सेयरमूल्य प्रतिकित्ता ९४८ रुपैयाँ ९० पैसा कायम भएको छ ।
ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.०४ प्रतिशतले घटेर एक हजार २४७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको एक अर्ब ३२ करोड १२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको सेयरमूल्य प्रतिकित्ता एक हजार ८३ रुपैयाँ १० पैसा कायम भएको छ ।