काठमाडौं । बुधबार रुसको कमचटका प्रायद्वीप नजिकै आएको भूकम्प सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भएको अधिकारीहरूले जनाएका छन् । साथै, आगामी दिनमा ‘शक्तिशाली परकम्प’ आउने चेतावनी पनि दिएका छन् । रूसी विज्ञान एकेडेमीअन्तर्गतको भूभौतिक सेवा विभागको कमचटका शाखाले भनेको छ, “कम्तीमा एक महिनासम्म ७।५ म्याग्निच्युडसम्मका उल्लेखनीय र महसुस गर्न सकिने परकम्पहरू जारी रहने अपेक्षा गरिएको छ ।”
८.८ म्याग्निच्युडको यो भूकम्पले रूसको सेभेरो–कुरिल्स्क बन्दरगाह सहरमा सुनामीको बाढी निम्त्याएको छ ।
रूसी बन्दरगाह सहरमा सुनामीको लहर
कमचटका प्रायद्वीपमा ८।८ म्याग्निच्युडको भूकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको छ । रूसको आपतकालीन मन्त्रालयका अनुसार, सुनामीको लहरले सेभेरो–कुरिल्स्क सहरको केही भागमा बाढी ल्याएको छ । यस सहरमा करिब दुई हजार जनाको बसोबास छ । क्षेत्रीय आपतकालीन मन्त्री सर्गेई लेबेदेवले यो भूकम्प दशकौँयताकै सबैभन्दा शक्तिशाली भएको बताएका छन् ।
जापानमा उच्च सतर्कता, समुद्रबाट टाढा रहन आदेश
जापानका विभिन्न क्षेत्रका बासिन्दालाई समुद्री तटबाट टाढा रहन र उच्च स्थानमा जानका लागि निकासी आदेश जारी गरिएको छ । फुकुशिमा डाइची र डाइनी परमाणु ऊर्जा केन्द्रका कामदारहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
टोकियो इलेक्ट्रिक पावर कम्पनी को विज्ञप्तिअनुसार, यी दुवै प्लान्टका कामदारहरूलाई निकासी गरी सुरक्षित स्थानमा राखिएको छ । स्मरणीय छ, सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीका कारण फुकुशिमा डाइची प्लान्टमा गम्भीर परमाणु दुर्घटना भएको थियो ।
अमेरिकाको हवाइ राज्यको माउमा साइरन र फोन अलर्ट, सुनामीको चेतावनी
माउ टापुमा साइरन र फोन अलर्टहरू बज्न थालेका छन् । यी अलर्टहरूमा स्थानीय समय अनुसार बेलुका ७ः१० बजेभित्र (तीन घण्टाभन्दा कम समयमै) सुनामीको लहर आउने सम्भावना जनाइएको छ ।
माउका बासिन्दा र ब्यागपाइप वादक रोजर प्लिजेन्टनले बीबीसीसँग भने, “यति धेरै चेतावनी पाएकोमा हामीलाई राहत महसुस भएको छ। कम्तीमा यो प्रणाली काम गरिरहेको छ भन्ने विश्वास लाग्यो। आपतकालीन सेवाहरू सक्रिय छन् ।”
डिजेल किन्न गाडीको लाइनमा बसेका उनले थपे, “हामी सबैलाई थाहा छ, अघिल्लो आगलागीको बेला भने यो प्रणालीले काम गरेको थिएन ।”