काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक १८.४४ अंकले घटेर २,९६४.२० विन्दुमा बन्द भएको छ । आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । बिहीबारको तुलनामा कारोबार रकम आठ अर्बले बढेको हो । आज २६ अर्ब ५७ करोड ७४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गएको बिहीबार १८ अर्ब ४९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा ६३ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १८६ कम्पनीको सेयरमूल्य घटेकोछ ।
आजको कारोबारमा पनि हाइड्रोपावर समूह सबैभन्दा अगाडि छ । सो समूहको मात्रै ११ अर्ब ६२ करोडको कारोबार भयो । कुल कारोबारमा हाइड्रोपावर समूहको हिस्सा ४३ प्रतिशत हो । विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूको कारोबार २–२ अर्बमाथिको भयो । आज ६३ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो । धेरैजसो समूह घटे पनि केही बढे । विकास बैंक १.२३, उत्पादन तथा प्रशोधन १.०८ तथा व्यापार १.४४ प्रतिशत बढे । माइक्रोफाइनान्स १ अंकमुनि हरियो रह्यो ।
फाइनान्स सबैभन्दा धेरै १.९९ प्रतिशत घट्यो । बैंकिङ ०.७१, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.०९, लगानी १.६६, जीवन बीमा १.३५, निर्जीवन बीमा ०.६७ तथा अन्य ०.८६ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जी छन् । हालै सूचीकृत ट्रेड टावरको मूल्य प्रतिकित्ता ७१३ रुपैयाँ पुगेको छ भने सान्भीको ६३५.६० रुपैयाँ पुगेको छ । त्यस्तै लुम्बिनी विकास बैंकको ८.४७, ग्रिन भेन्चर्सको ६.२९, सगरमाथा जलविद्युत कम्पनीको ६ प्रतिशत मूल्य बढ्यो ।
नारायणी डेभलपमेन्ट बैंकको ६.३४, राप्ती हाइड्रोको ४.९९, बुटवल पावरको ४.११ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, ङादी ग्रुप, नेपाल पुनर्बीमा, कालिका पावर र ग्रिन भेन्चर्स छन् । गत वर्षको साउन ३१ गते ३,०००.८१ विन्दुमा बन्द भएको बजार एक वर्षकै उच्च विन्दु हो । तर, यो विन्दुलाई आजको इन्ट्रा डे कारोबारमा पार गरेको थियो । आज ३,०१३ विन्दुसम्म परिसूचक पुगेको थियो । सेयर बजारमा इतिहासकै उच्च विन्दु ३,१९८ हो । यो ०७८ भदौ २ गते पुगेको विन्दु हो ।