अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाई यसरी बने अर्बपति !

काठमाण्डौ । अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाई अर्बपति बनेका छन्। ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार, भारतीय मूलका ५३ वर्षीय पिचाईको कुल सम्पत्ति १.१ अर्ब डलर पुगेको छ।
प्रविधि क्षेत्रमा विशेष गरी गैर संस्थापकले यो उपलब्धि हासिल गर्नुलाई विशेष मानिएको छ । अधिकांश प्रविधि अर्बपतिहरू जस्तै, मेटाका मार्क जुकरबर्ग वा एनभिडियाका जेन्सेन हुआङले आफ्नै कम्पनी स्थापना गरेकाले उनीहरूले सुरुवाती इक्विटीबाट सम्पत्ति आर्जन गरेका हुन्। तर पिचाई भने गुगल हुँदै अल्फाबेटको नेतृत्वमा पुगेका हुन्।

पिचाई अल्फाबेटका सबैभन्दा लामो समय सेवा गर्ने सीईओ पनि हुन्। उनले सन् २०१५ मा सीईओको जिम्मेवारी सम्हालेका थिए, र सन् २०२५ को अगस्टमा उनले नेतृत्वमा १० वर्ष पूरा गरेका छन्।

संसारको सबैभन्दा ठूलो टेक कम्पनी गुगलका सीईओ सुन्दर पिचाईले २०२४ मा १०.७३ मिलियन डलर तलब लिएका थिए। यो उनको २०२३ को तलबभन्दा २२५ बढी हो। २०२३ मा उनले ८.८ मिलियन डलर तलब लिएका थिए । पिचाईको तलब प्याकेजमा स्टक अवार्ड र कम्पेनसेसन समावेश छ। तर, उनको बेसिक तलब २ मिलियन डलर मात्रै छ ।

सबैभन्दा चाखलाग्दो कुरा के भने पिचाईले गुगलका पूर्णकालीन कर्मचारीभन्दा धेरै तलब पाउँछन्। गुगलका एक औसत पूर्ण-समय कर्मचारीलाई २०२४ मा ३,३१,८९४ डलर तलब दिइएको थियो, जुन २०२३ को तुलनामा ५ प्रतिशत बढी हो।

प्रतिक्रिया
सम्बन्धित समाचार