काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले सेयर बजारबाट १६ अर्ब ५४ करोड पूँजीगत लाभकर उठाएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा तीन गुणा भन्दा बढी हो ।
यस्तै यो रकम कुनैपनि एक आर्थिक वर्षमा संकलन भएको हालसम्मकै उच्च हो । यसअघि भने आर्थिक वर्ष २०७७/७८ मा सबै भन्दा बढी राजश्व संकलन भएको थियो । उक्त आवमा सरकारले पूँजीबजारबाट १५ अर्ब राजश्व संकलन गरेको थियो ।
आव २०८१/८२ मध्ये साउन महिनामा सबैभन्दा बढी अर्थात ४ अर्ब २३ करोड राजश्व उठेको छ । यस्तै पुस महिनामा सबैभन्दा कम अर्थात ५८ करोडबराबर राजश्व उठेको छ । गत आर्थिक वर्षको साउन ३० गते करिब ३० अर्बबराबरको सेयर कारोबार भएको थियो । जुन एक दिनमा भएको हालसम्मकै उच्च कारोबार हो ।
आर्थिक वर्ष २०८०/८१ मा भने नेपाल सरकारले पूँँजीबजारबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको थियो । यो रकम आर्थिक वर्ष २०७९/८० को तुलनामा ४६ प्रतशितले बढी हो ।
यसैगरी, आर्थिक वर्ष २०७९/८० मा सरकारले पूँजीबजारबाट जम्मा २ अर्ब ९७ करोड, आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब ३५ करोड, आर्थिक वर्ष २०७७/७८ मा १५ अर्ब भन्दा बढीको राजश्व उठाएको थियो ।