काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले एलन मस्कको एक्सएआईले बनाएको ग्रोक कृतिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) च्याटबोट प्रयोगका लागि २० करोड डलरको सम्झौता गरेको छ । यो सम्झौताले ग्रोकलाई संघीय सरकारका अन्य निकायहरूमा पनि प्रयोग गर्न बाटो खोल्ने बीबीसीले जनाएको छ ।
मस्कको कम्पनी एक्सएआईद्वारा सोमबार घोषणा गरिएको २०० मिलियन डलर को सम्झौता ‘ग्रोक फर गभर्नमेन्ट’ कार्यक्रमको हिस्सा रहेको र यो ट्रम्प प्रशासनको कृत्रिम बुद्धिमत्ता (एआई) को थप आक्रामक प्रयोगको प्रयाससँग मेल खाने बताइएको छ ।
यो अमेरिकाका संघीय निकाय, स्थानीय सरकार र राष्ट्रिय सुरक्षाका लागि विशेष गरी बनाइएको बताइएको छ ।
यो खबर ग्रोकले केही दिनअघि यहुदी विरोधी जवाफहरू दिएको र एडोल्फ हिटलरको प्रशंसा गरेको घटनापछि आएको हो । त्यतिबेला मस्कले यो च्याटबट अति आज्ञाकारी र अति चाप्लुस भएको बताएका थिए । उनले यो समस्या समाधान गरिरहेको बताएका थिए ।
एक्सएआईले आफ्ना उत्पादनहरू जसमा पछिल्लो ग्रोक ४ नमुना पनि ल्याएको छ । अब सामान्य प्रशासन सेवामार्फत किन्न सकिने बताएको छ । यसले कुनै पनि सरकारी कार्यालयलाई यो प्रविधि अपनाउन सजिलो हुने बताइएको छ । कम्पनीले गोप्य वातावरणका लागि प्राविधिक सहायता प्रदान गर्ने योजना पनि बनाएको बताएको छ ।
मस्कको विस्तार भइरहेको सरकारी साझेदारी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिग्रँदै गएको सम्बन्धको बीचमा आएको छ ।
मस्कले यो वर्षको सुरुमा ट्रम्प प्रशासनमा छोटो समयका लागि काम गरेका थिए । तर, ट्रम्पको कर र खर्च विधेयकमा विवाद भएपछि उनले पद त्याग गरेका थिए । बीबीसी