काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाउन लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमाआईपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३७ करोड ३० लाख रुपियाँको ३० प्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका ११ करोड १९ लाख रुपियाँबराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये प्रतिकित्ता १०० अंकित दरमा १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, कम्पनीले १८ हजार ६५० कित्ता शेयर कर्मचारीहरुका लागि र ४६ हजार ६२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
यो शेयरमा लगानीकर्ताले छिटोमा असार २७ र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन न्यूनतम १० कित्ता र १० हजार कित्ताका लागि दिन सकिनेछ ।