काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले भोलि (सोमबार)देखि देशभरको सार्वजनिक यातायात ठप्प पार्ने भएका छन् । सरकारी नियमको विरोधमा उनीहरुले गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।
राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरुले राजधानीमा पनि विरोध प्रदर्शन गरेका थिए ।
राइड सेयरिङका नाममा निजी सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै व्यवसायीले सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ, यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका छन् ।