आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास र प्रवर्द्धनका लागि समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए।

गणतन्त्र दिवस-२०८२ को सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको आज यहाँ उद्‌घाटन गर्दै उनले पर्यटनका क्षेत्रबाट मुलुकमा समृद्धि हासिल हुनेगरी नीतिगत र संरचनागत सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।

पर्यटनमन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै पर्वतीय पर्यटनको एकीकृत विकासलाई समन्वयात्मक किसिमले विकास गर्न जरुरी भएको बताए। विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको ब्रान्डिङ र प्रचारका लागि नीतिगत रुपमा अघि बढ्नुपर्ने अपरिहार्यता रहेको उल्लेख गरे।

मन्त्री पाण्डेले भने, ‘नेपाल भौगोलिक, प्राकृतिक र अनुपम सांस्कृतिक विविधतायुक्त मात्रै नभई यहाँका अद्वितीय साहसिक गन्तव्यका रूपमा रहेका हिमालहरूको ‘ब्राण्डिङ’ गरेर विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु अपरिहार्य छ । प्रदर्शित तस्बिरले पर्यटन विकासका साथै नेपालमा केही भइरहेको छ, भन्ने सन्देश प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास लिएको छु ।’

नेपालमा अनुपम र अद्वित्तीय पर्यटकीय ठाउँहरू छन् । प्राकृतिक र भौगोलिक विविधताले सम्पन्न हाम्रा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षण गर्न सरोकार भएका निकाय र मन्त्रालयबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार