नेपाल प्रहरीको ३१औँ प्रमुख दीपक थापा को हुन ?

काठमाडौं । नेपाल प्रहरीको ३१औँ प्रमुखमा दीपक थापा नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी थापालाई प्रहरी महानिरीक्षक आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआइजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादनको आधारमा थापा गिरी र तामाङभन्दा अगाडि हुनुहुन्थ्यो । सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औँ आइजिपी वसन्तबहादुर कुँवर अवकाशमा जानुभएको छ । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आइजिपीमा नियुक्त गरेको हो । सरकारले पहिलो वरीयतामा रहनुभएका थापालाई नै आइजिपी बनाएको हो ।

नवनियुक्त प्रहरी प्रमुख थापा केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०को नेतृत्वमा हुनुहुन्थ्यो भने तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुख हुनुहुन्छ । आइजिपी नियुक्तिसँगै थापाले आज मंगलबार देखि प्रहरीको कमाण्ड सम्हाल्नुहुने छ । प्रहरी नियमावली, २०१२ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्नसक्ने उल्लेख छ । त्यही कारण प्रहरी प्रमुख बन्नका लागि बढुवाको अन्तिम समयसम्म आकांक्षीहरूबीच राजनीतिक समर्थन जुटाउन दौडधुप चल्ने गर्छ ।

को हुन् थापा ?
प्रहरीको ३१औँ आइजिपीमा नियुक्त हुनुभएका थापा ०५२ भदौ १९ गतेदेखि प्रहरीमा सेवा सुरु गर्नुभएको हो । प्रहरी निरीक्षकबाट सेवा सुरु गर्नुभएका थापा हाल सिआइबीको प्रमुख हुनुहुन्थ्यो । उहाँले उपत्यका प्रहरी कार्यालयको कमाण्डसमेत गरिसक्नु भएको छ । उहाँसँग डिआइजी हुँदा बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय प्रमुखको कमाण्ड सम्हालेको अनुभव छ । त्यसरी नै एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुख, एसपी हुँदा चितवन जिल्ला प्रमुख, प्रहरी प्रधान कार्यालयको बजेट शाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल प्रमुख भएर काम गरेको अनुभव उहाँसँग छ ।

यसरी नै डिएसपी हुँदा जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख, इलाका प्रहरी कार्यालय बुटवल, प्रहरी वृत्त महाराजगञ्जको कमाण्ड उहाँले सम्हाल्नुभएको थियो । प्रहरी निरीक्षकमा समेत उहाँले अनेक युनिटको कमाण्ड सम्हाल्नुभएको थियो । उहाँसँग करिब २० भन्दा बढी युनिटको कमाण्ड सम्हालेको अनुभव छ । उहाँ संगठनमा तुलनात्मक रूपमा नरम स्वभावका प्रहरी अधिकारीका रूपमा दरिनुभएका अधिकारी हुनुहुन्छ ।

प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेसामा
भक्तपुरको तत्कालीन सिपाडोलका स्थायीवासी थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेसामा संलग्न हुनुहुन्थ्यो । उहाँले आइए पास गर्नेबित्तिकै निजी विद्यालयमा अध्यापन गराउन थाल्नुभएको थियो । विसं। २०४८ सालमा उहाँले शिक्षा सेवा आयोगको परीक्षा दिएर निमावि शिक्षकमा नाम निकाल्नुभएको थियो । भक्तपुर क्याम्पसमा बिए अन्तिम वर्ष पढ्दै गर्दा उहाँले कन्या मावि, भक्तपुरमा पढाउन थाल्नुभएको थियो । पछि १० मंसिर २०५० मा प्रहरी निरीक्षकमा आवेदन खुलेका बेला उहाँले दरखास्त दिनुभएको थियो । उहाँले आइए र बिए दुवैमा भक्तपुर क्याम्पस टप गर्नुभएको थियो । ३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानुहुने छ । संसद्मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उहाँले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनुहुने छ ।

गृह मन्त्रालयद्वारा कुँवरको बिदाइ

गृहमन्त्री रमेश लेखकले सोमबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई शुभकामनासहित बिदाइ गर्नुभएको थियो । साथै उहाँले प्रहरी महानिरीक्षक कुँवरलाई मायाको चिनोसमेत प्रदान गर्नुभएको थियो । उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक कुँवरलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो । सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवं इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि आवश्यकताअनुरूप राष्ट्रको लागि थप काम गर्ने अवसर प्राप्त गर्नुहुने छ भन्ने शुभकामनासमेत दिनुभएको थियो ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चितता गर्ने प्रहरी संगठनको प्रमुखको महत्वपूर्ण र गरिमामय पदमा कार्यरत भएर मुलुकका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँदै सेवा निवृत्त पछि अझ बढी प्रगतिको लागि शुभकामना दिनुभएको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पद सम्मको लामोयात्रा सम्पन्न गरी सोमबार बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताउनुभयो । आफ्नो कार्यकालको अवधिमा नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, सांगठनिक सुदृढीकरण, विकास र स्तरोन्नतिको लागि नेपाल सरकार, गृह मन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनको लागि कृतज्ञतासमेत व्यक्त गर्नुभयो । २०७९ चैत १० गते कुँवर नेपाल प्रहरीको ३०औँ महानिरीक्षक बन्नुभएको थियो । उहाँ ३० वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा जानुभएको हो । उहाँ २०५१ चैत ५ गते प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार