काठमाडौं। अमेरिकाका सबै विमानस्थलमा हवाई उडान अस्थायी रूपमा रोकिएको छ। एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा दूरसञ्चार सेवा अवरुद्ध भएपछि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले शुक्रबार देशभरका विमानस्थलमा उडान रोक्ने आदेश जारी गरेको हो।
दूरसञ्चार प्रणालीमा आएको समस्याका कारण हजारौं उडान प्रभावित भएका छन्। उडान ट्र्याकिङ प्लेटफर्म फ्लाइटअवेयरका अनुसार एफएएको आदेशपछि अमेरिकाभर करिब ७ हजार उडान ढिलाइ वा रद्द भएका छन्।
अमेरिकी यातायातमन्त्री सीन डफीले सामाजिक सञ्जाल एक्समार्फत सबै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरको सञ्चार प्रणालीमा समस्या देखिएपछि एफएएले देशव्यापी उडान रोक्ने निर्णय गरेको जानकारी दिएका छन्। उनका अनुसार एफएका प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको छ।
एफएएका अनुसार यो अवरोध अस्थायी दूरसञ्चार प्रणाली विफलताका कारण भएको हो। सावधानीका रूपमा सबै उडान रोकिएको र हवाई क्षेत्रमा रहेका सबै विमानको अवस्था पहिचान गरिएको प्रशासनले जनाएको छ। अन्तर्राष्ट्रिय उडानलाई भने अवस्थाअनुसार छुट्टाछुट्टै निर्णय गरेर व्यवस्थापन गरिने बताइएको छ।
अमेरिकाका २२ वटै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या देखिएको थियो। ती केन्द्रहरूले आ–आफ्नो क्षेत्रको हवाई यातायात व्यवस्थापन गर्नुका साथै विशेषगरी विमानस्थलतर्फ आइरहेका विमानलाई मार्गनिर्देशन गर्ने जिम्मेवारी सम्हाल्छन्।