नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल संवत्‌को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्न सरकारले स्पष्ट नीति, आवश्यक बजेट र प्रभावकारी कार्ययोजना बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले मंगलबार गृहमन्त्री सुधन गुरुङको उपस्थितीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख अर्यालले शंखधर साख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नेपाल भाषा तथा नेपाल लिपिको संरक्षण गर्ने जिम्मेवारीबाट राज्य विमुख हुन नहुनेमा उनले जोड दिए ।

उनले भने, ‘सरकारी कामका सार्वजनिक अभिलेख शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा यसको प्रयोग विस्तार गर्न सरकारले स्पष्ट नीति आवश्यक बजेट र प्रभावकारी कार्ययोजना बनाउनु पर्छ । शंखधर साख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नेपाल भाषा तथा नेपाल लिपिको संरक्षण गर्ने जिम्मेवारीबाट पनि राज्य विमुख हुनु हुँदैन ।’

नेपाल संवत् केवल वर्ष गणना गर्ने आधार नभई नेपालको ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक भएको बताए ।

उनले राष्ट्रिय विभूति शंखधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्ति जनताको हितमा समर्पण गरी ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक योगदान सामाजिक न्याय र लोककल्याणको अनुपम उदाहरण भएको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार