आईडीएल यमुना सहकारी समस्याग्रस्त घोषणा, बचतकर्ताको आठ अर्ब रुपैयाँ जोखिममा

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आईडीएल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ता सदस्य र साहुहरूलाई लिनुपर्ने रकम माग दाबी गर्न भनेको छ ।

समितिले ३५ दिनभित्र अनलाइनमार्फत दाबी गर्न भनेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आईडीएल यमुना सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि समितिलाई लेखी पठाएको थियो ।

सोहीअनुसार समितिको कार्यालयले ऋण असूलीका साथै दायित्व भुक्तानीको प्रक्रिया अघि बढाएको हो ।

यमुना आईडीएलमा ३० हजारभन्दा बढी बचतकर्ताको आठ अर्ब रुपैयाँ बचत रहेको छ । सहकारी समस्याग्रस्त घोषणा भएपछि बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा छ ।

आईडीएल युमना आधादर्जन सहकारी संस्थाहरू गाभिएर बनेको हो । २०८० असारमा हाम्रो सगरमाथामा आईडीएल यमुना बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, घेदुङ बहुउद्देश्यीय सहकारी संस्था र नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था मर्ज गरेर आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका नाममा कारोबार गर्न सहकारी विभाबाट स्वीकृति लिएका थिए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रहेका आईडीएल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती थिए । सहकारीको बचत हिनामिना गरेर फरार भएका उप्रेतीलाई गत असारमा पक्राउ गरेको थियो । उनी हाल प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार