काठमाडौं । विश्वकै लामो मुक्तिनाथ केबलकार परियोजनाको लगानी तथा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत हुने भएको छ । बुधबार अपराह्न बस्ने लगानी बोर्डको ६२औँ बैठकले विकासकर्ता मुक्तिनाथ दर्शन लिमिटेडले प्रस्ताव गरेको ५७ अर्ब ६४ करोड रुपैयाँ लगानीका साथै अद्यावधि गरेको डीपीआर स्वीकृति गर्ने भएको हो । यसअघि, केबलकार बनाउन ५५ अर्ब १८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । मुक्तिनाथले केबलकार परियोजनाको डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन बुझाइसकेको छ ।
लगानी र डीपीआर स्वीकृत भएपछि लगानी बोर्ड र मुक्तिनाथबीच केबलकार परियोजना अघि बढाउन आयोजना लगानी सम्झौता (पीआईए) गर्न बाटो खुल्नेछ । पीआईए भएपछि परियोजना काम अघि बढ्नेछ । काम सुरु गरेको पाँच वर्षभित्र केबलकार सञ्चालन गर्ने योजना मुक्तिनाथको छ । भारतको हैदरवादस्थित के एन्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना बनाउनुका साथै लगानीसमेत गर्ने भएको छ । इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) खाकामा केबलकार परियोजना बनाउन विकासकर्ता मुक्तिनाथ र के एन्ड आरबीच २०८० आसोज १७ मा प्रारम्भिक सम्झौता भएको थियो । पूर्ण लगानी सम्झौता हुन बाँकी छ ।
कास्कीको सेराबेँसीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिर (रानीपौवा)सम्म निर्माण हुने उक्त केबलकारको लम्बाइ ८१.०१४ किलोमिटर रहेको छ । केबलकार विरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा हुँदै मुक्तिनाथ पुग्नेछ । डीपीआर अनुसार केबलकारमा कुल १९ वटा स्टेशन हुनेछन् । त्यस्तै वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ । केबलकार सञ्चालनमा १३ मेगावाट बिजुली खपत हुनेछ । प्रत्येक स्टेसनमा रिसोर्ट पनि बनाउने कम्पनीको योजना छ । ११ वटा स्टेशनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ भने ८ स्टेशनमा अनिवार्य ओर्लिनुपर्ने छ । ५ स्टेशनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने व्यवस्था गरिने छ ।