कक्षा १२ को परीक्षा आजदेखि सुरु, सबैभन्दा धेरै काठमाडौं र कम मनाङबाट ४५ परीक्षार्थी सहभागी 

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले आजबाट देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन् ।

परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।

परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए ।

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार