दशैंको मुखमै चीनसँगको व्यापार ठप्प ! बाढीले रोक्यो व्यापारको बाटो

काठमाडौं । हिन्दुहरूको महान पर्व दशैं तिहार जस्ता ठूला पर्व नजिक आईसक्दा चीनसँग जोडिएका तीन अन्तराष्ट्रिय व्यापारिक नाका ठप्प भएका छन् । चीनसँग जोडिएको विभिन्न नाका मध्ये अन्तराष्ट्रिय व्यापारमा प्रयोग भएका तातोपानी, रसुवागढी र कोरला अहिले बन्द भएका हुन् ।

किमाथांका, यारी, ओलाङचुङगोला लगायतका नाकामा अन्तराष्ट्रिय व्यापारका लागि पूर्वाधार बनेका छैनन् । यी सहित केही परम्परागत नाका स्थानीय व्यापारमा प्रयोग हुँदै आएका छन् । तर, चीनसँग जोडिएको तीन अन्तराष्ट्रिय व्यापारिक नाका भने बाढी पहिरोका कारण अहिले दशैंको मुखमा ठप्प भएका छन् । यसले दशैंको किनमेललाई प्रभावित बनाउने देखिएको छ । नेपालका लागि सामान लिएर आएका सयौं कन्टेनर अहिले मुस्ताङ पारि नै रोकिएका छन् ।

चीनसँग जोडिएको तातोपानी नाका चालु आवको सुरुदेखि नै ठप्प जस्तो छ । चीनको व्यापारमा यो नाका पनि धेरै प्रयोग हुन्छ । तर, त्यो नाकासँग जोडिने सडक अरनिको राजमार्ग साउन १ गते यता नै अवरुद्ध जस्तो छ । चार किलो क्षेत्र, कोदारी क्षेत्र ९इको० लगायतका ठाउँमा पहिरो गएको छ । कतिपय ठाउँमा सडक भासिएको पनि छ । त्यसपछि त्यहाँ ठूला सवारी साधनको आवागमन प्रतिबन्ध छ । त्यसले गर्दा तातोपानीबाट हुने चीनसँगको व्यापार अर्थात् आयात निर्यात ठप्प जस्तै छ । त्यहाँबाट अहिले नगण्य रुपमा वस्तु आयात हुने गरेका छन् ।

तातोपानी नाका प्रभावित भएपछि चीनसँगको व्यापार रसुवागढी नाकामा सिफ्ट भएको थियो । यसै पनि चीनसँगको व्यापारमा उक्त नाका धेरै नै प्रयोग हुने गरेको थियो । तातोपानी अवरुद्ध भएपछि त्यसमा थप चाप बढेको थियो । तर, भदौ १० गतेको विनाशकारी बाढीले रसुवागढीमा भएको नेपाल र चीन दुवैको भन्सार कार्यालय, अध्यागमन कार्यालय तथा सुक्खा बन्दरगाह बगायो । साथै, त्यससँग जोडिने सडक पनि बगाएको छ । त्यसपछि त्यहाँबाट हुने व्यापार पनि ठप्प भएको छ ।

त्यसपछि चीनसँगको व्यापार मुस्ताङको कोरला नाकामा सिफ्ट भएको थियो । तर, असोज ८–१९ गतेको अविरल बर्षात् र त्यस पछिको बाढीले कोरला नाका पनि ठप्प गराएको छ । कालीगण्डकीमा आएको बाढीले नाकासँग जोडिने कालीगण्डकी करिडोरको ४६ ठाउँमा सडक अवरुद्ध गराएको छ । ठाउँ ठाउँमा सडक नै बगाएको छ । यसैगरी मुस्ताङको कोरला क्षेत्रमा पनि हिम पहिरो नै आएको छ । त्यसपछि कोरला नाकाबाट हुने व्यापार पनि ठप्प भएको भन्सार विभागका अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार