नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरेका छन् ।
उनले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत बताए । नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रियालाई सम्बोधन गर्दै डा. वाग्लेले नेपालमा उदीयमान लगानीका अवसरहरूमाथि प्रकाश पारे । देशको आर्थिक रूपान्तरणमा सहभागी हुन भारतीय व्यवसायीहरूलाई आमन्त्रण गरे ।
भारतीय व्यवसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा उनले नेपालले उच्च वृद्धिको सम्भावना भएका क्षेत्रहरूमा लगानीका लागि ठूलो अवसर प्रदान गर्ने बताए ।
पहिले नै नेपालमा सञ्चालित भारतीय कम्पनीहरूलाई आफ्नो लगानी विस्तार गर्न र नयाँ लगानीकर्ताहरूलाई नेपाली बजारको खोजी गर्न उनले आग्रह गरे ।
मन्त्री वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डामा अघि बढिरहेको जानकारी दिए । उनले नीतिगत सुधारलाई तीव्र बनाउन र अझ बढी अनुमानयोग्य, पारदर्शी तथा लगानीकर्तामैत्री व्यवसायिक वातावरण सिर्जना गर्न सरकारले गरिरहेका प्रयासहरूको चर्चा गरे ।
“डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन र उत्पादन साझेदारीको अवधारणामा आधारित उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण वाहकका रूपमा उदय भइरहेका छन्, “मन्त्री वाग्ले भने, “भारतीय व्यवसायीहरूलाई नेपाललाई बजारको रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति श्रृंखलामा एकीकरणका लागि रणनीतिक साझेदारको रूपमा हेर्न चाहन्छौँ ।”
अर्थमन्त्री वाग्लेले वार्षिक बजेट, कर सुधार र लगानीकर्तामैत्री नीतिगत पहलहरूमार्फत नेपाल सरकारले हालै चालेका कदमहरू व्यवसायिक वातावरण सुधार गर्न, लगानीका बाधाहरू हटाउन र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई सहज बनाउन लक्षित रहेको स्पष्ट पारे ।