इरान युद्धमा अमेरिकाको खर्च प्रतिमहिना ४ खर्ब ६० अर्ब रूपैयाँबढी, मुद्रास्फीतिको जोखिम

काठमाडौं। अमेरिकाले इरान युद्धमा हालसम्म अर्बौं डलर खर्चिएको विवरण सार्वजनिक भएको छ। इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्त १ सम्म ३८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको विवरण सार्वजनिक भएको हो।

अमेरिकी संसद्को गैरदलीय बजेट कार्यालयले मंगलबार सार्वजनिक गरेको मूल्यांकनअनुसार युद्धको तीव्रताअनुसार आगामी दिनमा अमेरिकाको सैन्य खर्च प्रतिमहिना तीन अर्ब डलर वा त्यसभन्दा बढी हुन सक्नेछ ।

संसद्को बजेट कार्यालयले तयार पारेको उक्त मूल्यांकन अमेरिकी प्रतिनिधिसभाको बजेट समितिका शीर्ष डेमोक्र्याट सांसद ब्रेन्डन बोयलको सूचनाको अनुरोधपछि तयार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

अमेरिकी करदातामाथि आर्थिक भार
प्रतिनिधिसभाका बजेट समितिका शीर्ष डेमोक्र्या सांसद ब्रेन्डन बोयलले युद्धको मानवीय क्षतिसँगै यसको आर्थिक प्रभावबारे पनि चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार बजेट कार्यालयको गैरदलीय मूल्यांकनले अमेरिकी करदातामाथि युद्धका कारण दसौं अर्ब डलरको आर्थिक भार परेको र खर्च अझ बढिरहेको देखाएको छ।

मुद्रास्फीति बढ्न सक्ने
इरान युद्धले अमेरिकी अर्थतन्त्रमा पनि असर पार्ने देखिएको छ। युद्धका कारण सन् २०२७ को पहिलो त्रैमासिकसम्म मुद्रास्फीतिमा वृद्धि हुने अनुमान गरिएको छ। कार्यालयले यसअघि गरेको अनुमानको तुलनामा मुद्रास्फीति करिब ०.५ प्रतिशत बिन्दुले बढी हुने जनाएको छ।

इरानसँग सम्बन्धित द्वन्द्वका कारण हर्मुज समुद्री बन्दरगाह हुँदै हुने तेल तथा प्राकृतिक ग्यासको ढुवानीमा आएको कमी र लाल सागर हुँदै हुने समुद्री ढुवानीमा परेको अवरोधलाई उल्लेख गरिएको छ।

हर्मुज विश्वको महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापारिक मार्गमध्येमा पर्छ। त्यहाँबाट हुने तेल तथा ग्यास आपूर्तिमा अवरोध आउँदा अन्तर्राष्ट्रिय बजारमा ऊर्जा मूल्य तथा ढुवानी लागतमा दबाब पर्न सक्छ।

अमेरिकी बजेट कार्यालयका अनुसार युद्धमा भएको अमेरिकी खर्चको ठूलो हिस्सा युद्धमा प्रयोग भएर नष्ट वा क्षति भएका हतियार तथा सैन्य उपकरण पुनःपूर्ति गर्न खर्च भइरहेको हो।

तर, ३८ अर्ब डलरभन्दा बढीको यो अनुमानमा युद्धका क्रममा मारिएका वा घाइते भएका अमेरिकी सैनिकसँग सम्बन्धित खर्च समावेश गरिएको छैन। त्यस्तै, पूर्वसैनिकका लागि भविष्यमा आवश्यक पर्न सक्ने स्वास्थ्योपचार, अपांगता क्षतिपूर्ति तथा अन्य दीर्घकालीन सुविधाको खर्च पनि यसमा समावेश छैन। युद्धसँग सम्बन्धित वास्तविक अमेरिकी सरकारी खर्च हाल सार्वजनिक गरिएको रकमभन्दा अझ बढी हुन सक्ने सम्भावना रहेको बताइन्छ।

बजेट कार्यालयको नयाँ अनुमान अमेरिकी रक्षा सचिव पिट हेगसेथले यसअघि दिएको अनुमानसँग पनि धेरै हदसम्म मिलेको छ। हेगसेथले अमेरिकी संसद्को माथिल्लो सदनमा दिएको बयानका क्रममा इरान युद्धको अमेरिकी सैन्य खर्च करिब ३७.५ अर्ब डलर पुगेको बताएका थिए।
अगस्त १ सम्म रक्षा विभागको खर्च ३८ अर्ब डलर नाघिसकेको देखाएको छ।

खर्च अझ बढ्न सक्ने
अमेरिकी बजेट कार्यालयले युद्धको आगामी खर्च निश्चित नभएको जनाएको छ। द्वन्द्व कति लामो समयसम्म जारी रहन्छ र सैन्य गतिविधिको तीव्रता कति हुन्छ भन्ने आधारमा खर्चमा ठूलो फरक पर्न सक्छ।

कार्यालयको अनुमानअनुसार अमेरिकी रक्षा विभागले युद्धका कारण प्रतिमहिना तीन अर्ब डलर वा त्यसभन्दा बढी खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। यससँगै युद्धले सैन्य बजेटमा मात्र नभई ऊर्जा आपूर्ति, समुद्री व्यापार, ढुवानी लागत र मुद्रास्फीतिजस्ता क्षेत्रमा समेत प्रभाव पार्न सक्ने देखिएको छ। -एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार