संसद् अधिवेशन नजिकिँदै, बजेट तयारीमा सरकार व्यस्त

काठमाडौं । संघीय संसद्को वर्षे अधिवेशन बोलाइएपछि सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणलाई तीव्रता दिएको छ । वैशाख २८ गतेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरिएको छ ।

यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमसँगै नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गरिनेछ । परम्पराअनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।

संघीय संसद् सचिवालयले पनि अधिवेशन सञ्चालनका लागि आवश्यक व्यवस्थापन र तयारी अघि बढाएको जनाएको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बजेट अधिवेशनलाई लक्षित गर्दै विभिन्न प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको छ ।

उता, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटलाई प्रभावकारी र परिवर्तनमुखी बनाउने लक्ष्यसहित परामर्श तथा छलफललाई तीव्र बनाएका छन् । उनले विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूसँग प्रारम्भिक चरणको छलफल सम्पन्न गरिसकेका छन् ।

त्यसैगरी, सांसद, अर्थविद् तथा अन्य सरोकारवालासँग पनि सुझाव संकलनको काम अघि बढाइएको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने र सुधारका कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बजेट तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार