राष्ट्र बैंकले एकै पटक एक खर्ब १० अर्ब निक्षेप तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज०बैंक तथा वित्तीय संस्थाहरूबाट एकै पटक एक खर्ब १० अर्ब रूपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो ।

राष्ट्र बैंकले ८७ दिनका लागि सो बराबरको निक्षेप तान्न लागेको हो । यसमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरुले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।

अहिले बैंकहरूमा अधिक तरलता रहेको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक पटक बोलकबोलबाट पैसा तान्दै आएको छ । सोही क्रममा आज राष्ट्र बैंकले एक खर्ब १० अर्ब रूपियाँ निक्षेप बोलकबोल गर्न लागेको हो ।

आजको बोलकबोलमा बैंकहरुले घटीमा १० करोड रूपियाँ र बढीमा पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरूले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

८७ दिन अर्थात् आगामी जेठ १३ गते बैंकहरुलाई सावाँ र ब्याज भुक्तानी गरिनेछ । कर्जाको माग न्यून हुँदा अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न यो उचित विकल्प हुने देखिन्छ ।

अहिले बैंकहरूमा करिब ७७ खर्ब ३२ निक्षेप हुँदा कर्जा प्रवाह ५८ खर्ब पाँच अर्ब रूपियाँ छ । सीडी रेसियोको सीमाअनुसार बैंकहरूसँग १२ खर्ब रूपियाँ ऋण दिन मिल्ने पैसा छ । तर, कर्जाको माग बढ्न नसक्दा बैंकहरूमै त्यो पैसा थुप्रिएको छ । त्यसपछि राष्ट्र बैंकले बैंकहरूमा भएको पैसा तान्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार