काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल सरकारको परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौंबाट जारी गरिएको सूचनामा मन्त्रालयले सम्बन्धित देशका सुरक्षा निकायहरूले दिएका निर्देशनहरू कडाइका साथ पालना गर्न अनुरोध गरेको छ। मन्त्रालयले सकेसम्म घरभित्रै बस्न, अनावश्यक आवतजावत नगर्न, सधैं सजग रहन तथा आफ्नो आसपासका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ। साथै सम्बन्धित निकायको पूर्वस्वीकृति बिना कुनै यात्रा नगर्न पनि अनुरोध गरिएको छ।
सूचनामा काठमाडौंस्थित मन्त्रालय, तेल अभिवस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहन पनि भनिएको छ।
इजरायल वा इरान भ्रमण गर्ने योजना बनाएका नेपाली नागरिकलाई अवस्था सामान्य नभएसम्म यात्रा स्थगित गर्न मन्त्रालयले सिफारिस गरेको छ। साथै अन्य मध्यपूर्वी मुलुकमा रहेका नेपालीलाई पनि स्थानीय निकायका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरिएको छ।