काठमाडौं– नेपालमा वैशाख ७ गतेका दिन हरेक वर्ष याकचौँरी दिवसका रुपमा मनाइने भएको छ ।
२०३० वैशाख ७ गते सोलुखुम्बुको स्याङबोचेमा पहिलो पटक याक फर्म स्थापना गरेको दिनलाई आधार मानेर प्रत्येक वर्ष याकचौँरी दिवस मनाउने निर्णय सरकारले गरेको हो ।
जसअनुसार कृषि तथा पशुपंछी विकास मन्त्रालयको आयोजना र याकचौँरी व्यवसायी कृषक महासंघको सह–आयोजनामा आगामी वैशाख ७ गते काठमाडौंमा याकचौँरी दिवस मनाइँदैछ ।
पहिलो पटक मनाउन लागिएको याकचौँरी दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको याकचौँरी व्यवसायी कृषक महासंघका अध्यक्ष पाबिहाङ राईले जानकारी दिए ।आयोजकका अनुसार दिवसका अवसरमा र्याली, कृषक सम्मान, चिज, छुर्पी, घिउसहित याकचौरीका उत्पादनको प्रदर्शनी लगायतका कार्यक्रम हुनेछन् ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका निकायसँगै वन मन्त्रालय, पर्यटन मन्त्रालय, इसिमोड, एफएओ, डब्लडब्लु एफ सहितका संघ संस्था र बिभिन्न जिल्लाबाट याकचौरी कृषकहरुले प्रतिनिधिमूलक सहभागिता जनाउनेछन् ।