७ महिनामा ४० अर्बभन्दा बढी एफडीआई प्रतिबद्धता, २० हजारभन्दा बढी रोजगारी सृजना हुने

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले ४० अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागका अनुसार २०८२ साउनदेखि माघ मसान्तसम्म ५२४ वटा परियोजनाका लागि ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो। यी परियोजनामार्फत २० हजार ८९६ जनाले रोजगारी पाउने उल्लेख गरिएको छ।

माघ महिनामा मात्रै ४९ परियोजनाका लागि १ अर्ब ४ करोड ७२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ, जुन पुस महिनाको तुलनामा बढी हो।

हालसम्म नेपालमा कुल एफडीआई प्रतिबद्धता ६ खर्ब ७६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। यद्यपि सरकारले चालु आवमा ७ खर्बभन्दा बढी एफडीआई भित्र्याउने लक्ष्य लिएको थियो। पछिल्लो राजनीतिक उतारचढाव तथा भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनका कारण लगानी वातावरण प्रभावित भएको राष्ट्रिय योजना आयोगले जनाएको छ। आयोगका सीईओ सुशील ज्ञवालीका अनुसार लगानीमैत्री वातावरण निर्माण गरी विदेशी लगानीकर्तालाई आकर्षित गर्ने प्रयास जारी छ।

कुन क्षेत्रमा कति लगानी?

उद्योग विभागका अनुसार परियोजनाको सङ्ख्याका आधारमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै एफडीआई आएको छ भने रकमका हिसाबले कृषि क्षेत्र अगाडि देखिएको छ।

पर्यटन क्षेत्र: १५० परियोजनामा १० अर्ब ८६ करोड २० लाख ५० हजार रुपैयाँ

कृषिमूलक व्यवसाय: १४ परियोजनामा २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ

सेवामूलक क्षेत्र: ३४ परियोजनामा ३ अर्ब ५४ करोड ८० लाख रुपैयाँ

औद्योगिक उत्पादन क्षेत्र: ३५ परियोजनामा २ अर्ब ४० करोड ६६ लाख रुपैयाँ

सूचना तथा प्रविधि (आईटीसी): १ अर्ब २५ करोड ९४ लाख रुपैयाँ

यस अवधिमा पर्यटनले परियोजनाको सङ्ख्यामा अग्रता लिँदा कृषि क्षेत्रमा लगानीको परिमाण उच्च देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार