छ महिनामै ५३ अर्ब ४१ करोड कर छुट, कुन–कुन शीर्षकमा कति बाँडियो ?

छ महिनामा ५३ अर्ब ४१ करोड कर छुट, कुन शीर्षकमा कति दिइयो ?

 

काठमाडौं । सरकारले चालु आर्थिक बर्ष २०८२–८३ को पहिलो ६ महिनामा विभिन्न शीर्षकमा करदातालाई ५३ अर्ब ४१ करोड ८७ लाख रूपियाँ कर छुट दिएको छ । आयाततर्फ ५२ अर्ब ८४ करोड ९५ लाख रूपियाँ कर छुट दिइएको छ । यसैगरी आर्थिक ऐन अन्तर्गत ५५ करोड ५७ लाख रूपियाँ कर छुट दिइएको हो ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको बजेटको अर्ध वार्षिक समीक्षा प्रतिवेदनले यस्तो देखाएको हो । यसैगरी पूँजीगत लाभकर तर्फ एक करोड ३४ लाख ९५ हजार कर छुट दिइएको छ ।

प्रतिवेदनअनुसार आयाततर्फ मूल्य अभिवृद्धि कर छुट हुने वस्तुहरूको आयातमा दिइएको छुट २९ अर्ब ७० करोड ३३ लाख रूपियाँ छ । कूटनीतिक सुविधा अन्तर्गत पैठारी भएका माल वस्तुमा ४८ करोड २९ लाख कर छुट दिइएको छ । महसुल सुविधा अन्तर्गत पैठारी भएका माल वस्तुमा चार करोड २१ लाख कर छुट दिइएको देखिन्छ ।

यसैगरी मुनाफा रहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका निकाय वा नेपाल सरकारको स्वामित्व भएका संगठित संस्थाले पैठारी गरेका माल वस्तुमा ९५ करोड पाँच लाख कर छुट दिइएको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल सरकार वा लगानी बोर्डसँग भएको आयोजना विकास सम्झौता बमोजिम परियोजना विकासका लागि आयोजना वा आयोजनाले नियुक्त गरेका ठेकेदारको नाममा पैठारी भएका माल वस्तुमा एक अर्ब ४९ करोड ७८ लाख कर दिइएको अर्थ मन्त्रालयको भनाइ छ ।

यस्तै, साफ्टा सुविधा अन्तर्गत पैठारी भएका माल वस्तुमा दुई अर्ब ७६ करोड ९६ लाख कर छुट दिइएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी विभिन्न शीर्षकमा एक अर्ब ७४ करोड ३३ लाख कर छुट दिइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार